हाम्रो समृद्धि यात्रा कसैले रोक्न सक्दैनः प्रधानमन्त्री

KP sharma oli
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले दुई छिमेकी मुलूकसँग पारस्परिक सम्बन्ध राखेर अघि बढ्नु पर्ने बताएका छन्। शनिवार आफ्नो पुस्तक ‘भिजन टु एक्सन’ सार्वजिनक गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

‘सूर्यको वरिपरि ९ ग्रह सन्तुलनमा घुमिरहन्छन्। उनीहरुलाई सन्तुलनमा राख्न डोरी बाँध्न र झुण्ड्याउन आवश्यक पर्दैन,’ ओलीले भने, ‘त्यसैगरी हामीले भिन्न-भिन्न विचार राख्ने दुई ठूला छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध राखेर अगाडि बढ्नु पर्छ। सरकार त्यही नीति अख्तियार गरेर अगाडि बढिरहेको छ।’

नेपाल दुई ढुंगाबीचको तरुल भएकाले फैलन नसक्ने भएपनि आफूसँग उपलब्ध स्थानमा समृद्धि हासिल गर्न भने सक्ने ओलीले बताए। ‘दुई ठूला ढुंगाबीचको सानो तरुल। फैलिन नपाउला। फैलिन आवश्यक पनि छैन। यसैमा समृद्धि हासिल गर्न त पाउँछ नि। दुई ठूला देशबीचको सम्बन्ध सन्तुलन कायम गरेर समृद्ध हासिल गर्न सक्छौँ,’ उनले भने।

उनले अगाडि भने, ‘हामीले हाम्रो भूमि विस्तार गर्न सक्दैनौं। किनकी हाम्रा छिमेकीहरु हाम्रा छिमेकीहरु सबै तबरले शक्तिशाली छन्। तर, अहिले उपलब्ध भूमिमा समृद्धि हासिल गर्न उनीहरुले रोक्दैनन्। अहिले सरकारले अख्तियार गरेको सन्तुलित सम्बन्धका कारण उनीहरु हाम्रो समृद्धिका यात्रामा सहयोग गर्न तयार देखिएका छन्।’

प्रधानमन्त्री ओलीले सरकार लक्ष्यसहित समृद्धिको यात्रामा अगाडि बढेको समेत बताए। ‘अहिलेसम्म के चल्याथ्यो, ढुंगा टिपेर फाल्यो जहाँ खस्छ त्यही निसाना साँध्या थिएँ भन्दियो। त्यस्तो होइन अहिले हामीले पहिले निसाना साँधेर ढुंगा फालेका छौँ,’ उनले भने, ‘हामीले हाम्रो उद्धेश्य के हो? कहाँ पुग्ने हो? लक्ष्य साँधेर अगाडि बढेका छौँ। समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यसहित काम अगाडि बढाएका छौँ।’

सम्भावना हुँदा हुँदै पनि देश पछि परेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हामीसँग विकासका सम्भावनाहरु छन्। हामीसँग ढुंगा छ माटो छ। काठ छ पराल छ। बाँस छ। खर छ। हामीसँग घर छैन। त्यसैकारण देश गरिब छ। तर अब कोही भोकै नमर्ने जिम्मा सरकारले लिन्छ।

जनचाहना अनुरुपको व्यवस्था र स्थायित्वका लागि आफू लागिरहेको भन्दै उनले थपे, ‘प्रकृति अत्यन्त समृद्धि छँदै छ। हामी दीगो विकास भन्छौँ। त्यसका सम्भावनाहरु सारै राम्रो छ। संकट आउन नपाउने गरी नहल्लिने खालको अर्थतन्त्र। हाम्रो देश अलि सानो छ। तर पनि अलि कति रिसेसनको हावा लाग्यो भने पनि नडग्मगाउने अर्थतन्त्र बनाउनु छ।’

लामो समय लगाएर मुलुकमा जनता सर्वेसर्वा हुने शासन व्यवस्था ल्याएको भन्दै यसलाई अझ व्यवस्थित बनाउनु पर्ने उनको भनाइ छ। ‘हामीले लामो संघर्ष पश्चात जनता सर्वेसर्वा हुने व्यवस्था स्थापित गरेका छौं,’ ओलीले भने, ‘यसलाई सही तरिकाले अगाडि बढाउने या नबढाउने भन्ने हाम्रो हातमा छ।’