एमसीसीले नेपालको अर्थतन्त्र बदल्ने निश्‍चित छ : प्रधानमन्त्री

kp_oli
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले असम्भव ठानिएका कामलाई समेत सम्भव बनाएर सरकारले काम गरेको बताएका छन्। आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले असाधरण काम गरेको दाबी गरेका हुन्।

सरकारले विभिन्न क्षेत्रमा गरेका कामको प्रगति विवरण प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले सरकारका काम तथ्यांकले बोल्ने बताए। स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास तथा भूकम्पपछिको पुनर्निर्माणमा सरकारले प्रशंसनीय काम गरेको दाबी ओलीको छ।

६६ प्रतिशत नेपालीले इन्टरनेट सेवा उपभोग गरिरहेका बताउँदै ओलीले भने, ‘सबै जिल्लामा फोरजी सेवा विस्तार गरिएको छ। जबकि, सबै जिल्लामा फोरजी पुग्नु असम्भव ठानिएको थियो।’ विपद् व्यवस्थापनका क्षेत्रमा पनि सरकारले उल्लेखीय प्रगति गरेको उनले बताए। सामाजिक सुरक्षाका हिसाबले आफू नेतृत्वको सरकारले नागरिकलाई सबैभन्दा बढी सुरक्षित र राहत महसुस गराएको ओलीको दाबी छ।

प्रधानमन्त्री ओलीले श्रम बजारमा आउने नयाँ युवाले रोजगारी पाइरहेको दावीसमेत गरे। ‘श्रम बजारमा प्रवेश गर्ने नयाँ युवालाई रोजगारी दिएका छौं, नयाँ आउने श्रमशक्ति अनुसार रोजगारी बढाएका छौं, श्रम बजारमा नयाँ आउने जनशक्तिलाई रोजगारीले भेट्ने भेट्ने स्थिति छ,’ उनले भने।

अब पुराना बेरोजारलाई मात्र रोजगारी दिन बाँकी रहेको उनले बताए। उनीहरुको तथ्यांक श्रम मन्त्रालयले तथ्यांक संकलन गरिरहेको भन्दै उनले शिक्षा र सिपलाई जोड्न नसक्दा युवा साक्षर शिक्षित बेरोजार बन्न पुगेको उनले बताए। उनले सिप अभावले बेरोजार हुने स्थिति सरकारले हटाउने बताए।

उनले एमसीसी परियोजनाले नेपाली अर्थतन्त्र र ऊर्जा उपयोगको तस्बिर बदलिदिने दाबी पनि गरे। ‘आगामी ५ वर्षभित्र यो एमसीसी योजना पूरा भइसक्दा नेपालको अर्थतन्त्र, वैदेशिकव्यापार, भुक्तानी सन्तुलन र ऊर्जा उपयोगको तस्बिर बदलिने निश्चित छ,’ ओलीले भने।

अमेरिका सरकारको ५० अर्ब र नेपालको १३ अर्बको लगानी रहेको एमसीसी परियोजनाले राष्ट्रिय गौरवको पहिचान प्राप्त गरेको उनको भनाइ थियो। ‘एमसीसी कम्प्याक्ट अन्तर्गत गोरखपुरसम्म प्रशारण लाइन दीर्घकालीन योजना तयार भएको छ। यो लगानी एमसीसीले राष्ट्रिय गौरवको योजनाको महत्व र हैसियत प्राप्त गरेको छ,’ उनले भने।

एमसीसी परियोजनाअन्तर्गत नेपालको भूभाग हुँदै भारतको गोरपुरसम्म १२० किलोमिटर लम्बाइको ४०० केभी क्षमताको प्रशारण लाइन विस्तार गर्ने कार्यक्रम हो। त्यसका लागि नेपाल सरकार र भारत सरकारबीच सहमति भइसकेको प्रधानमन्त्रीले बताए। ‘नेपालको उत्पादित विद्युत् भारत र बंगलादेश बेच्न बाटो खुलेको छ। अन्य देशमा निर्यात गर्ने बाटो पनि सुनिश्चित भएको छ,’ उनले थपे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्