काठमाडौं । पूर्वसभामुख कृष्ण बहादुर महराको पुनरावेदनमा आज सुनुवाई हुदैछ । संसद सचिवालयमा कार्यरत कर्मचारीलाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोप लागेपछि थुनामा रहेका पूर्वसभामुख महराको मुद्दाको उच्च अदालत पाटनमा आज सुनुवाइ हुने भएको हो । उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र टेकनारायण कुँवरको इजलासमा पेसी तोकिएको छ ।
उच्च अदालतले जिल्ला अदालतबाट महराको मुद्दासम्वन्धी कागजात मगाउने आदेश दिएको थियो । महराले उच्च अदालतमा पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन गरेका थिए । आजको सुनुवाइमा उच्च अदालतले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय सदर गर्ने वा बदर गर्ने निर्णय गर्नेछ । आफू अनुकुल उच्च अदालतको आदेश नआए महरा सर्वोच्च जान पाउने छन् । त्यस्तै जिल्ला अदालतमा पनि उनको बकपत्र चलिरहेको छ ।
सोमबारदेखि जिल्ला अदालत काठमाडौंमा उनलाई बकपत्रका लागि उपस्थित गराएको होे । न्यायाधीश अम्बिरराज पौडेलको इजलासमा महराको बकपत्र भइरहेको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शन पाण्डेको इजलासले जबर्जस्ती करणी उद्योगमा उनलाई मंसिर ६ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।



लोकपाटी न्यूज

