चीनलाई वाणिज्य दूतावास खोल्न नदिने अमेरिकाको निर्णय

china_America
लोकपाटी न्यूज

काठमाडौँ। संयुक्त अधिराज्य अमेरिकाले आफ्नो भूमिमा चिनियाँ वाणिज्य दूतावास खुल्न नदिने भएको छ। अमेरिकी तल्लो सदनले पारित गरेको ‘तिब्बत पोलिसी सर्पोट एक्ट २०१९’मा यस्तो व्यवस्था गरेको उल्लेख छ।

‘साउथ चाइना मर्निङ पोस्ट’ले प्रकाशित गरेको खबरअनुसार चीनले तिब्बतको राजधानी ल्हासामा आफ्नो कूटनीतिक स्टेसन राख्न अनुमति नदिएसम्म अमेरिकी भूमिमा वाणिज्य दूतावास स्थापना गर्न बेइजिङले दिएका सबै आवेदन अस्वीकृत गर्ने उक्त ऐनमा उल्लेख छ।

पछिल्लो ऐनलाई ‘तिब्बत पोलिसी एक्ट २००२’ को परिपूरक ठानिएको छ। उक्त ऐनमा दलाई लामाको उत्तराधिकारी छान्ने प्रक्रियामा वाधा पुर्‍याउने चिनियाँ अधिकारीलाई प्रतिबन्ध लगाउन विदेश मन्त्रालयलाई निर्देशन दिएको छ। ऐनले तिब्बती पठारमा रहेको जलस्रोतको संरक्षण गर्न र तिब्बती मुद्दामा अमेरिकी विशेष संयोजकको शक्ति विस्तार गर्न पनि निर्देशन दिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन शक्तिमा आएदेखि उक्त पद खाली छ। अब उक्त ऐन अमेरिकी माथिल्लो सदन सिनेटबाट पारित हुन बाँकी छ।