रमेश भुसाल/ सुनवल, १२ माघ । सुनवल २ मुखिया टोलकी राधा मिश्र यतिबेला पाठेघरमा लागेको क्यान्सर रोगबाट ग्रसीत छन्। आर्थिक रुपले समेत विपन्न राधा पाठेघरमा क्यान्सर लागेपछि निकै चिन्तीत रहेकी छन्।
गत साउनमा नै आफूलाई क्यान्सर लागेको थाहा पाएकी राधाले अर्को महिना भदौंमा नजिकैको सरस्वती प्राविमा सञ्चालन भएको स्वास्थ्य शिविरमा पाठेघर चेकजाँच गर्दा राधालाई मात्र होइन छिमेकिलाई पनि थाहा भयो पाठेघरमा क्यान्सर रोग लागेको भनेर। भरतपुर क्यान्सर अस्पताल पुगेपछि राधालाई अझै स्पष्ट भयो आफूलाई क्यान्सर रोग लागेको। क्यान्सर लागेको थाहा भएपनि प्रारम्भीक चेकजाँच बाहेक राधाको आर्थिक अभावमा थप उपचार हुन सकेको छैन।
स्वास्थ्य शिविरपछि परासी हुँदै विपि कोइराला मेमोरियल क्यान्सर हस्पीटल भरतपुर पुगेकी राधालाई क्यान्सर अस्पतालमा १०/१५ लाखभन्दा बढी नै उपचार खर्च लाग्ने भएपछि निराश हुँदै घर आएको राधाले बताइन्। राधाका तीन छोरामध्ये दुई छोराको गत वर्ष निधन भएको थियो भने अहिले राधासंँग १९ वर्षका एक छोरा र १० वर्षकी एक छोरीसँगै रहेका छन्।
उनका श्रीमान ५/६ वर्षदेखि सम्पर्कमा नरहेको उनले बताइन्। छिमेकीहरुकोे सहयोग र १९ वर्षे छोराको कमाइले बिहान साँझ हातमुख जोरिएको बताउदै राधाले भनिन्, ‘उपचारमा सहयोग पाएँ अझै बाच्ने इच्छा छ।’ राधाको उपचारको लागि चन्दा संकलन कार्य, नगरपालिकाबाट सिफारिस बनाएको, सवैसँग सहयोगको आग्रह गर्ने जस्ता कार्यहरुलाई आगाडि बढाएको स्थानीय समाजसेवि तथा छिमेकी धनमाया गौतम क्षेत्रिले बताइन्।
पीडितको उपचार खर्च जुटाउन मिश्रका नाममा बैंक खाता खोलेर रकम संकलनका लागि आव्हान गरिएको छ। नविल बैंकको सुनवल शाखामा मिश्रको नाममा रहेको खाता नम्बर ५५१००१७५०२५१९ मा सहयोग गर्न चाहनले रकम जम्मा गर्न सक्नुहुनेछ।



लाेकपाटी न्यूज
