घाम लागे पनि चिसो महसुस किन ?

https://archive.lokpati.com/wp-content/uploads/2018/09/Cloudy-weatrher.jpg
लाेकपाटी न्यूज

काठमाडौं, १० माघ। काठमाडौं उपत्यकामा पछिल्ला केही दिनयता घाम लागे पनि बढी चिसो महसुस गरिएको छ। एक सातादेखि दिनहुँजसो घाम लागे पनि खासगरी बिहान बेलुका बढी चिसो महसुस गरिएको छ।

अहिले किन चिसो बढेको भनी राखिएको जिज्ञासामा मौसमविद् शान्ति कँडेलले कुनै पनि किसिमको मौसमी प्रणाली विकास नभए पनि यस्तो अवस्था अझै केही दिन जारी रहने बताइन्। उनले चिसो बढे पनि काठमाडौं उपत्यकाको तापक्रम शून्य डिग्रीमा नझर्ने र विस्तारै तापक्रम बढ्दै जाने बताइन्। राजधानीसहित देशका अन्य भेगमा पनि पछिल्ला दिनमा चिसो महसुस गरिएको छ।

तराईमा हुस्सु र कुहिरोले बिहान र साँझपख बढी चिसो हुने गरेको छ। अहिले तराई क्षेत्रमा कुहिरो लागेको छ, भने देशका पूर्व र मध्यका केही स्थानमा आंशिक बदली रहेको मौसमविद् कँडेलको भनाइ छ।

महाशाखाले तराईको हुस्सु र शीतलहरसम्बन्धी आज बुलेटिन निकालेर सुदूरपश्चिम प्रदेशको तराई भूभागबाहेक बाँकी तराईका भू-भागमा हुस्सु र कुहिरो लागेको जनाएको छ। अपराह्नपछि विस्तारै कुहिरो हटेर जानेछ। अबको केही दिन सामान्यतया मौसम सफा रहने जनाइएको छ । रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्