सुर्खेत। नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महासचिव मोहनविक्रम सिंहले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) मार्फत अनुदान सहयोग लिनु नेपालको असंग्लन परराष्ट्र नीति विपरीत भएको दाबी गरेका छन्। अमेरिकाले इण्डो प्यासेफिक रणनीतिभन्दा एमसीसी कहिल्यै अलग हो नभनेका कारणले राष्ट्र हित विपरीत भएको उनले बताए।
सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा महासचिव सिंहले भने, ‘नेपालले असंग्लन परराष्ट्र नीति अपनाएको छ। अमेरिकाले कहिल्यै पनि मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) इन्डो प्यासेफिक योजनाभन्दा अलग छ भनेको छैन्। यो त्यसैको एक हिस्सा हो। त्यसैले यो राष्ट्र हित विपरीत छ।’
वर्तमान सरकारले आर्थिक प्रभोलनमा परेर देश बेच्न लागेको महासचिव सिंहले आरोप लगाए। ‘यो सरकारले आर्थिक प्रभोलनमा परेर देश बेच्न लागेको छ,’ उनले भने, ‘आर्थिक लाभका लागि देश नै बन्धकी राख्न पाइदैँन्।’ वर्तमान सरकार कम्युनिस्टको नभई यो सरकार वामपन्थीको सरकार भएको महासचिव सिंहले बताए।
‘हामीले यो सरकार वामपन्थी सरकार भनेका छौं। जनपक्षीय सवालमा सहयोग र समर्थन गरेका छौं,’ उनले भने, ‘तर, यिनीहरुले आफ्नै घोषणा पत्रमा उल्लेख गरेको समाजवाद उन्मुख कार्यक्रम पनि लागू गरेका छैनन्।’ संघीयताले देशलाई टुक्रा–टुक्रा पार्ने भएकाले अहिले संघीयता आवश्यक नभएको भन्दै उनले त्यसकाविरुद्ध संघर्ष गर्न देशभर जागरण अभियान चलाइएको बताए।



लाेकपाटी न्यूज

