नेकपाको केन्द्रीय समितिको बैठक सभागृहमा गर्ने तयारी

CPN_Nekapa
लाेकपाटी न्यूज

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक राष्ट्रियसभा गृहमा बस्ने भएको छ। माघ १५ मा बोलाएको पार्टी केन्द्रीय समिति बैठक राष्ट्रियसभा गृहमा बस्ने नेकपाले जनाएको हो। नेकपा केन्द्रीय समिति ४ सय ४१ सदस्यीय छ।

नेकपा केन्द्रीय कार्यालयका अनुसार, केन्द्रीय समिति बैठक कति दिनसम्म चल्छ भन्ने यकिन भएको छैन। तर अहिले तीन दिनसम्मका लागि राष्ट्रिय सभा हल बुकिङ गरिएको नेकपाले जनाएको छ। यसअघि २०७५ जेष्ठ १० मा नेकपा केन्द्रीय समितिको बैठक बसेको थियो। त्यसयता केन्द्रीय समिति बैठक बस्न सकेको छैन।

बैठकमा अध्यक्ष प्रचण्डले दुई अध्यक्षकै तर्फबाट राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ। सङ्गठनात्मक रूपमा लिइएको र सचिवालय हुँदै स्थायी समितिले अनुमोदन गरेका निर्णय अनुमोदन, विधान संशोधन र समसामयिक प्रस्ताव समेत नेकपाको केन्द्रीय समितिका एजेन्डा छन्।

बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनलाई प्रत्येक केन्द्रीय सदस्यलाई बोल्न दिने गरी समय मिलाउन अप्ठ्यारो हुने भएपछि नेकपाले राजनीतिक प्रतिवेदन पेस गरेपछि केन्द्रीय समिति सदस्यहरूलाई विभिन्न समूह बाँडेर छलफल गर्ने र समूहबाट टिम लिडर बनाएर बैठक हलमा सुझाव तथा टिप्पणीका रूपमा प्रस्तुत गर्ने गरी बैठकको तयारी भइरहेको नेकपा नेताहरूले बताएका छन् ।

प्रचण्ड पार्टीमा कार्यकारी अध्यक्ष भएपछि नेकपाले पार्टी सङ्गठनलाई गति दिन एक वर्षसम्म बस्न नसकेको स्थायी समिति बैठक २९ मङ्सिर देखि पुस ६ सम्म राखेको थियो। त्यसपछि २३ पुसमा केन्द्रीय समिति बैठक बस्ने गरी मिति तोकिएको थियो। तर राष्ट्रिय सभा निर्वाचनका कारण माघ १५ मा केन्द्रीय समिति बैठक सारिएको थियो।