कम्युनिष्ट सरकारले सुकुम्बासीलाई उठिबास लगाउँदैन : मन्त्री अर्याल

padma aryal 1
लाेकपाटी न्यूज

महेन्द्रनगर, ४ माघ। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सुकुम्बासीलाई जमिन दिने तयारी भइरहेको बताएकी छिन्। शनिबार नेकपा कञ्चनपुरका अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै उनले भनिन्, सुकुम्बासीलाई जमिन दिन्छौं।

हामीले सुकुम्बासीलाई उठिबास लगाउन सक्दैन। अव्यवस्थित बसोबासीलाई पनि निश्चित मापदण्ड बनाएर सम्बोधन गर्छौं। कम्युनिष्ट सरकारले सुकुम्बासीलाई उठिबास लगाउन सक्दैन। जमिनको समस्या अब नबल्झिने गरी दीर्घकालीन रुपमा समाधान गर्छौं।

मन्त्री अर्यालले जमिनको एकीकरण र चक्लाबन्दी बिना समाजवादको आधार तयार नहुने बताइन्। उनले भनिन्, हाम्रो जनसंख्या ३ करोड छ। तर, जमिनका कित्ता ३ करोड ६० लाखभन्दा बढी कित्ता छन्। जनसंख्याभन्दा बढी कित्ता भएको देश नेपाल मात्र हो। यो बेथिति रोक्न नसके जमिनको वैज्ञानिक उपयोग गर्न सकिँदैन। त्यसका लागि सरकारले नीतिगत, कानूनी र प्राविधिक तयारी पूरा गरेको छ। अब कानूनमा कुनै समस्या छैन।

सरकार विकास र समृद्धिका लागि दृढतापूर्वक अघि बढेको बताइन्। मन्त्री अर्यालले भनिन्, हिजो गाउँमा १ लाख जाँदा व्यापक प्रचार हुन्थ्यो। तर, अहिले ठूला परियोजना बन्दैछन्, त्यसको कुनै चर्चा हुँदैन। ठूला ठूला सुरुङमार्ग बन्दैछन्, यसको पनि चर्चा गरिँदैन। भ्रष्टाचार नियन्त्रण र सुशासनका पक्षमा धेरै ठूलठूला काम भएका छन्। तर, त्यसको पनि चर्चा गरिँदैन। यी सरकारका सामान्य उपलब्धि होइनन्। यसको महत्त्व बुझेर जनतामा लैजानु नेकपाका नेता, कार्यकर्ताको जिम्मेवारी हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्