काठमाडौं, २ माघ । सत्य विश्वभूमि पार्टी नेपालले अमेरिकी सहयोग एमसीसीको कडा विरोध गरेको छ। बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त पार्टीले एमसीसीको सहयोग स्वीकार गर्नु भनेको नेपाललाई विदेशीको कब्जामा पार्नु हो भन्ने तर्क गरेको हो।
पार्टीका अध्यक्ष होम बहादुर कार्कीले नेपाल (देवभूिम) ३३ कोटी देवताको स्वर्गभूिम भएको बताउँदै नेपालमा विकास र सहयोगको नाममा अमेरिकी साम्राज्यवाद लाद्न नदिने घोषणा गरेका हुन्। उनले भने, ‘अहिले अमेरिकाले एमसीसीको नाममा नेपाललाई कब्जा गर्ने रणनीति अघि सारेको छ, यसको पछाडि म अमेरिकालाई भन्दापनि नेपालकै भरौटे नेताहरुलाई दोष दिन चाहन्छु।
उनीहरुकै कारणबाट विदेशी शक्ति राष्ट्रहरुले हाम्रो देशलाई यति सजिलै सिध्याउने रणनीति लिएको भान हुन्छ।’ नेपालकै नेताहरुका कारण विदेशीले नेपालमा रक्तपातको होली खेल्न खोजेको कार्कीको गम्भिर आरोप छ। उनले आफू विश्वभक्त भएको नाताले आजभन्दा तीन वर्ष अघि नै अमेरिकी साम्राज्यवादले नेपालजस्तो देवभूमिलाई कब्जा गर्न खोजेको छ भनेर दाबाका साथ खतरा औंल्याएको पनि स्मरण गराए।
उनले नेपालस्थित् सबै विदेशी नियोग र दुतावासहरु बन्द गर्नुपर्ने पनि माग अघि सारेका छन्। उनले यही माघ २१ गतेभित्रै नेपालमा भएका सबै विदेशी नियोग तथा दुतावासहरु बन्द नगरे आफूले माघ २१ गते नै नेपाल बन्द गर्ने पनि घोषणा गरे। उनले आफू देशभक्त भएको सुनाउँदै विद्यमान ठूला राजनीतिक दल र सरकार पक्षका मानवहरुले हस्तक्षेप गर्न खोजेको आरोप लगाए।



लाेकपाटी न्यूज
