‘भीम रावललाई कुन फोन नम्बरबाट ज्यान मार्ने धम्की आयो ?’

Gokul-Baskota
लाेकपाटी न्यूज

काठमाडौं। सरकारका प्रवक्ता गोकुल बास्कोटाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले बालुवाटारबाट ज्यान मार्ने धम्की आएको भन्दै लगाएको आरोपमा कुरा सत्यता नभएको दावी गरेका छन्।

सरकारको निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा उनले नेता रावलको उक्त आरोपको खण्डन गरे। मन्त्री बाँस्कोटाले भने, ‘प्रधानमन्त्रीले आफ्नै कार्यकयर्ताका लागि तरवार र खल्तीमा गोलीको माला बोकेर हिँड्नुहुन्न।’

रावलले केही दिन पहिले एमसीसीविरुद्ध बोल्दा बालुवाटारबाट ज्यान मार्ने धम्की आएको अभिव्यक्ति दिएका थिए। बाँस्कोटाले संचारकर्मीको प्रश्नमा प्रतिप्रश्न गर्दै भने, ‘भीम रावललाई धम्की दिएको भनेको पत्यार लाग्छ ? प्रधानमन्त्री त्यस्तो खालको हुनुहन्छ? कसैको ज्यानै लिने हो?’

प्रधानमन्त्री निवसाबाट त्यस्तो धम्की आएको भए खुलस्त पार्न पनि बाँस्कोटाले रावललाई चुनौती दिएका छन्। उनले भने, ‘साँच्चै त्यस्तो हो भने उहाँले भन्नुपर्छ। यो नम्बरबाट फोन आयो र कसले धम्की दियो भनेर बोल्नुपर्छ।’

प्रधानमन्त्रीले भाषण गर्ने, टिप्पणी गर्ने गरेको तर कसैलाई ज्यानै मार्ने धम्की नदिएको बाँस्कोटाको भनाइ थियो। नेताहरूले टिप्पणी गर्नु, आलोचना गर्नु सही भए पनि ज्यान मार्ने धम्की दियो भन्नेमा सत्यता नभएको उनको भनाइ थियो।

सरकारले रावललाई पूर्ण सुरक्षा दिइरहेको बाँस्कोटाको भनाइ थियो। ‘उहाँको सुरक्षामा पछुवा पनि (पूर्वगृहमन्त्रीको हैसियतले प्राप्त सुरक्षाकर्मी) छन् र उहाँको साथमा अन्य सुरक्षाकर्मी पनि छन्,’ बाँस्कोटाले भने।

रावलले आफ्ना धारणा राखेकोमा कसैले उनलाई धम्की दिन नहुने बाँस्कोटाको भनाइ थियो। प्रधानमन्त्री नेकपाकै र रावल पनि नेकपाकै भएकाले त्यस्तो हुनै नसक्ने उनको प्रष्टिकरण थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्