‘पार्टीले चाहे शिवमायालाई सांसदबाटै फिर्ता बोलाउन सक्छ’

shivamaya2
लाेकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई पदबाट राजीनामा दिन लिखित निर्देशन दिने भएको छ। नेकपाले लिखित निर्देशन दिए पछि उमसभामुख तुम्बाहाङ्फेले राजीनामा दिने नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले बताएका छन्।

समाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्,‘नेकपा एमालेबाट समानुपातिक सांसद रहनुभएकी शिवमाया तुम्बाहाङ्फेलाई नेकपाले आज उपसभामुखबाट फिर्ता आउन लिखित निर्देशन दिन्छ र उहाँले राजीनामा दिनुहुन्छ।’

शनिबार नेकपा सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन निर्देशन दिएको थियो। तर, सभामुखको उम्मेदवारबारे निर्णय नभएसम्म राजीनामा नदिने अडान आफू निकटहरुसँग राखेकी छन्। निर्वाचन प्रक्रिया प्रारम्भ हुनुअघि तुम्बाहाङ्फेलाई राजीनामा गराउने योजनामा नेकपा छ।

उनीभन्दा उम्मेदवार तय नभएसम्म राजीनामा नदिने अडानमा छिन्। तुम्बाहाङ्फेले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेर आफू सभामुख किन नहुने भनी प्रश्न गरेकी थिइन्। दुई अध्यक्षले सभामुखबारे पार्टीले निर्णय लिने भन्दै उपसभामुखबाट राजीनामा दिन सुझाव दिएका थिए।

अध्यक्षद्वयले उपसभामुख कायम रहेमा नेकपाले उम्मेदवारी दिन नमिल्ने संवैधानिक व्यवस्था व्यवस्थाप्रति सचेत गराएका थिए। तर, उनले सभामुखबारे निर्णय नभए आइतबारको बैठक सञ्चालन गरी कार्यतालिका नै अघि बढाउने चेतावनी दिएकी थिइन्। राजीनामा नगरेर उनले सभामुख चयन प्रक्रिया नै अवरुद्ध गर्न खोजेको निष्कर्षसहित नेकपाले आज लिखित निर्देशन दिन लागेको बुझिएको छ।

नेकपाका नेता रिजालले उपसभामुखबाट मात्र नभएर पार्टीले चाहे समानुपातिक सांसद भएकाले सांसदबाट नै फिर्ता बोलाउन पनि सक्ने उल्लेख गरेका छन्। उनले ट्वीटरमा लेखेका छन्, ‘किन्तु, परन्तु भन्ने कुरै भएन। समानुपातिकलाई चाहेमा पार्टीले सांसदबाटै त सजिलै फिर्ता बोलाउन सक्छ।’