काठमाडौं। मध्यपूर्वमा उत्पन्न भएको तनावलाई लिएर परराष्ट्र मन्त्रालयले चिन्ता व्यक्त गरेको छ। नेपालले युद्ध हुने सम्भावनाप्रति चिन्ता जनाउँदै जारी तनाव वार्ताबाट समाधान गर्न अनुरोध गरेको हो।
बिहीबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अमेरिका र इरान दुवै देशलाई युद्ध टाल्न वार्ताबाट समाधान खोज्न अनुरोध गरेको छ।मन्त्रालयले त्यस क्षेत्रमा ठूलो संख्यामा नेपाली आप्रवासीहरु कार्यरत रहेको भन्दै उनीहरुको सुरक्षा आफ्नो प्राथमिकताको विषय रहेको प्रष्ट पारिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘हामी सबै पक्षहरुलाई यस क्षेत्रमा तनाव बढाउने तथा शान्ति र स्थायित्वलाई खतरामा पार्ने खालका काम–कारबाही नगर्न आह्वान गर्छौं।’ विज्ञप्तिमा सबै विवाद र मतभेदहरुलाई शान्तिपूर्ण माध्यमबाट समाधान गर्नुपर्ने नेपालको अडान रहेको स्पष्ट गरिएको छ।
इरानका सेनापति कसिम सुलेमानीलाई अमेरिकाले ड्रोन आक्रमणमा मारेपछि दुई देशबीच तनाव उब्जेको हो। हालै इरानले इराकस्थित अमेरिकी सैन्य क्याम्पमा जवाफी आक्रमण गरेको छ।




लाेकपाटी न्यूज

