पूर्वाधार विकास समृद्धिको पहिलो शर्त हो : मन्त्री नेम्वाङ

IMG_4117
लाेकपाटी न्यूज

पाँचथर, २३ पुस । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले मुलुकका सबै क्षेत्रलाई सवल बनाउन सके मात्र समृद्धि सम्भव हुने बताएका छन्। बुधबार गृह जिल्ला पाँचथरको हिलिहाङ गाउँपालिका वडा १ र २ अध्याँरोमुक्त घोषणा कार्यक्रममा यस्तो बताएका हुन्।

मुलूकका सबै क्षेत्रहरुलाई सवल र समयानुकुल बनाउन सकेमात्रै समृद्धि सम्भव हुने भएकाले सरकारले विकास निर्माण र सेवा प्रवाहका सबै क्षेत्रमा सुधारको प्रयास गरिरहेको मन्त्री नेम्वाङको भनाइ छ। सरकारको प्रयासकै कारण विकास निर्माणका कार्यहरु तथा सेवा प्रवाहका क्षेत्रहरुमा परिवर्तन आएको मन्त्री नेम्वाङले बताए।

मन्त्री नेम्वाङले ठूला पूर्वाधारका आयोजना, विकास निर्माणका अन्य योजना र सेवा प्रवाहका क्षेत्रमा सरकारले एकैसाथ सुधारको प्रयास गरिरहेको बताए। “सल्लाको दीयालो बाल्नुपर्ने अवस्थाको अन्त्य भयो। अब विदेशबाट आयातित ग्याँसबाट खाना पकाउनुपर्ने, दाउराबाट खाना पकाउनुपर्ने अवस्थाको पनि अन्त्य गर्छौ”, मन्त्री नेम्वाङले भने, “अब आफ्नै पानीबाट उत्पादित विद्युत् चुला चौकामा पु¥याई त्यसैबाट खाना पकाउने प्रवन्ध सरकारले गर्छ।”

मन्त्री नेम्वाङले देशका ४० वटा जिल्लामा पूर्ण विद्युतीकरण गर्ने योजना चालु आर्थिक वर्षबाट अघि बढेको जानकारी दिए। यही कार्यक्रमअन्तर्गत् पाँचथरमा चालु आर्थिक वर्षमा सरकारले करीब १ अर्ब ५० करोड बजेट विद्युतीकरणका लागि छुट्ट्याएको मन्त्री नेम्वाङले बताए। उनले १÷२ वर्षमै पाँचथर जिल्लालाई अध्याँरोमुक्त जिल्ला निर्माण गर्ने कार्यमा जुट्न आग्रह पनि गरे। आफूले विद्युतीकरणका लागि जिल्लामा निरन्तर अगुवाई गरेको र जिल्लाका वडा तथा स्थानीय तहहरु क्रमशः अध्याँरोमुक्त घोषणा हुँदा आफूलाई सबैभन्दा खुसी मिलेको मन्त्री नेम्वाङले बताए।

फरक प्रसङ्गमा मन्त्री नेम्वाङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतका विभिन्न ७ वटा राष्ट्रिय गौरवका आयोजनाहरु निर्माणको कार्यलाई द्रूत गतिमा अघि बढाउन आफूले निरन्तर अनुगमनको कार्य गर्दै आएको बताए। उनले पुष्पलाल (मध्यपहाडी) लोकमार्गसहित पूर्वी पहाडका विशेष महत्वका तमोर कोरिडोर सडक, मदन भण्डारी सडक, राँके–रबी–भेडेटार सडक, पाथीभरा मन्दिर ताप्लेजुङ सडक निर्माणलाई समेत आफूले विशेष चासो दिएको बताए।

कार्यक्रममा जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटाले मन्त्री नेम्वाङकै अगुवाइमा जिल्लामा विद्युतीकरणको सुरुआत भएको र अहिले उहाँबाटै विभिन्न वडाहरुलाई अध्याँरोमुक्त वडा बनाउने कार्य अघि बढ्नु सुखद् संयोग रहेको बताए।

हिलिहाङ गाउँपालिका वडा नं. १ र २ का करीब १ हजार २ सय घरमा विद्युतीकरणको कार्य पूरा भई वडाहरुलाई अध्याँरोमुक्त वडा घोषणा गरिएको गाउँपालिका अध्यक्ष भुवानीप्रसाद लिङदेनले जानकारी दिए। यी वडाहरु कुल रु. ८ करोड ८० लाख ६० हजारको लागतमा विद्युतीकरणको कार्य पूरा भएको हो। विद्युतीकरणका लागि नेपाल विद्युत प्राधिकरण फिदिम वितरण केन्द्रले रु. १२ लाख बराबरको प्राविधिक सहयोग, नेपाल विद्युत प्राधिकरण इलाम कार्यालयबाट रु. २० लाख, काबेली कोरिडोर परियोजनाबाट रु. २ करोड ८० लाख, काबेली ए जलविद्युत परियोजनाबाट रु. ७६ लाख, हिलिहाङ गाउँपालिकाबाट रु. ७४ लाख, अरुण काबेली जलविद्युत आयोजनाबाट रु. ३ लाख ६० हजार, नेपाल विद्युत प्राधिकरणको सामुदायिक विद्युतीकरण कार्यक्रमबाट रु. २ करोड ९२ लाख र उपभोक्ताहरुबाट सङ्कलित रु. ३२ लाख ५० हजार रकम प्राप्त भएको हिलिहाङ गाउँपालिका वडा नं. १ वडाध्यक्ष गोपीकृष्ण भण्डारीले जानकारी दिए।

गाउँपालिका अध्यक्ष लिङदेनका अनुसार हिलिहाङ गाउँपालिकाको वडा नं. १, २, ५ र ६ मा विद्युतीकरणको कार्य पूरा भएको छ भने वडा नं. ३, ४ र ७ मा विद्युतीकरणको कार्य धमाधम अघि बढिरहेको छ। आगामी छ महिनाभित्र विद्युतीकरणको काम सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको गाउँपालिका अध्यक्ष लिङदेनले जानकारी दिए।

त्यस्तै मन्त्री नेम्बाङले याङवरक गाउँपालिका ६ मा आयोजित अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताको उद्घाटन गरेका छन्। नेपाल सितोरियो कराँते संघ डोजो नागी र मुकुबुङ युवा क्लबले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगितामा नेपालका विभिन्न स्थान र भारतको दार्जिलिङ, आसाम र सिक्किमबाट २ खेलाडी सहभागी रहेको आयोजकले उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्