काठमाडौं, ६ मंसिर । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएकी छन् ।
रिपोर्टर्स क्लब नेपालले बिहीबार राजधानीमा आयोजना गरेको साक्षात्कारमा उनले दुई तिहाइको बहुमत हुँदा पनि सरकारले विकास निर्माणको काममा उल्लेख्य काम गर्न नसकेको बताइन् । ‘दुई तिहाइको सरकार सफल भएन भने मुलुकमा खतरनाक स्थिति आउन सक्छ,’ उनले भनिन् । प्रमुख प्रतिपक्षी दल काँग्रेस कमजोर भएको कारण मुलुकमा भ्रष्टाचार मौलाएको उनको भनाइ थियो ।
पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री कोइरालाले नेपालले छिमेकी मुलुकसँगको सम्बन्ध राम्रो राख्नुपर्ने बताइन् । उनले छिमेकी मुलुकसँगको सम्बन्ध राम्रो नराखे मुलुकलाई नोक्सान पुग्ने उल्लेख गरिन् । नेत्री कोइरालले पार्टी सभापतिको कार्यशैलीका कारण काँग्रेस कमजोर हुँदै गएको भन्दै पार्टीलाई बलियो बनाउनका लागि कोइरालाहरु एकजुट भएको स्पष्ट पारिन् । ‘
कोइरालाभित्र नेतृत्वका बारेमा कुनै मनमुटाव छैन, समय आएपछि छलफल गरेर जनमानसमा भिजेको र सङ्गठन हाँक्न सक्ने नेतृत्वलाई अगाडि सार्छौँ,’ उनले भनिन् ।



लाेकपाटी न्यूज