काठमाडौं। युग शब्दले निश्चित अवधिको काललाई जनाउँछ। धार्मिक मान्यताअनुसार काललाई चार खण्डमा विभाजन गरिएको छ, सत्य, त्रेता, द्वापर र कलि युग। यी युगमा मानिस कस्तो थियो, जीवनपद्धति कस्तो थियो ? त्यो कुरा संक्षेपमा उल्लेख गरिएको छ।
(१) सत्य युग :– सत्य युग मानव जातिको प्रारम्भको युगलाई मान्ने गरिन्छ। यसलाई ढुंगे युग पनि भन्ने गरिन्छ। यस युगको अवधि १७ लाख अठ्ठाइस हजार वर्ष पूरानो मानिन्छ। यस युगमा मानिसको आयु दश लाख वर्ष भएको मान्ने गरिएको छ। यस युगमा मानिसहरु १०० देखि १५० फुट अग्ला थिए। त्यति बेला मानिसको हातको लम्वाई नै पाँच फिट भएको विश्वास छ। त्यतिबेलाको मानिस निकै विशाल भएको धार्मिक विश्वास छ।
सत्य युगमा पृथ्वीमा कोही पनि मानिस पापी थिएनन्। यस युगमा मानिसले पुण्य काम मात्र गर्दथ्यो। यस युगमा ४ अमानवीय अवतार थिए, मत्स्य, कूर्म, बाराह र नृसिंह। यस युगमा मुद्राका रुपमा रत्नको अस्तित्व थियो। यस युगमा शंखासुरको वध र वेदोको उद्दार गरी पृथ्वीको भार हरण गरेको विश्वास मानिन्छ। यस युगमा हिरण्यकश्युपको वध र प्रह्लादको मुक्ति गरिएको विश्वास छ।
(२) त्रेता युग :– त्रेता युग दोस्रो युग मानिन्छ। यसको अवधि १२ लाख ९६ हजार वर्षदेखि यताको मानिन्छ। यसको प्रारम्भमा मानिसको आयु १ लाख वर्ष थियो। त्रेता युगको अन्त्यसम्म मानिसको आयु १० हजार वर्षमा झरेको विश्वास गरिन्छ। यस कालमा मानिसको उचाइ ७० देखि ९० फिट भएको मानिन्छ।
यस युगमा २५ प्रतिशत मानिसहरु पापी थिए, बाँकी ७५ प्रतिशत मान्छे धर्मात्मा थिए। यस युगका अवतारमा बामन, परशुराम र राम मानिन्छन्। यस युगमै रामचन्द्र रावणको वध गरेको मानिन्छ। यो युगबाट नै मानिसहरुबीच विभेदको पर्खाल प्रारम्भ भएको मानिन्छ।
(३) द्वापर युग :– यो युग ८ लाख ६४ हजार वर्षदेखि यता अस्तित्वमा रहेको मानिन्छ। धार्मिक मान्यताअनुसार यो तेस्रो युग हो। यस युगको प्रारम्भमा मानिसको आयु १० हजार वर्ष थियो। तर, युगको अन्त्यसम्म मानिसको आयु १ हजार वर्षमा झरेको मानिन्छ। यस युगमा मानिसको उचाइ ४० देखि ५० फिट भएको विश्वास मानिन्छ।
यस युगको तीर्थास्थल कुरुक्षेत्र मानिन्छ। यस युगमा पुण्य र पापको मात्रा ५०–५० प्रतिशत मानिन्छ। यस युगका मुख्य अवतार कृष्ण मानिन्छन्। यस युगको मुद्रा चाँदी मानिन्छ। प्रसिद्ध ग्रन्थ गीता कुरुक्षेत्रकै लडाइको वर्णन हो।
(४) कलि युग :– चार लाख बत्तीस हजार वर्षदेखि यताको अवधिलाई कलि युग मानिन्छ। यो युग अहिले पनि जारी छ। यस युगको प्रारम्भमा मानिसको आयु एक हजार वर्षको थियो। कलि युगको अन्त्यसम्म मानिसको आयु २० वर्षमा झर्ने विश्वास गरिन्छ। कलि युगको प्रारम्भमा मानिस १० फिटको भएको र यस युगको अन्त्यसम्म ३ फिट रहने विश्वास गरिएको छ।
यस युगको प्रमूख तीर्थास्थल गंगा हो। यस युगमा ७५ प्रतिशत मानिस पापी र २५ प्रतिशत मानिस धर्मात्मा रहन्छन्। यस युगको अवतार कल्की अवतार हो। यस युगको मुद्रा फलाम मानिन्छ। यो मानिसको अस्तित्वको अन्तिम युग मानिन्छ।



लाेकपाटी न्यूज

