कुन माटोमा कुन बाली उत्तम मानिन्छ ?

Agriculture land of Nepal
लाेकपाटी न्यूज

काठमाडौं। नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण मुलतः पहाडी मुलूक हो। हिमाल, पहाड र तराईका रुपमा विभाजित नेपालको अधिकांश भू–भाग पहाडी क्षेत्रमा पर्दछ। तर, उत्पादनका दृष्टिले नेपालको तराई क्षेत्र उर्भरभूमि मानिन्छ। नेपालको तराई क्षेत्रलाई देशको अन्न भण्डारका रुपमा चिनिन्छ।

नेपालको विभिन्न भू–भागमा विभिन्न प्रकारको माटो पाइन्छ। माटोको प्रकारअनुसार बालीहरु लगाउँदा मात्र हामीले राम्रो उत्पादन प्राप्त गर्न सक्छौं। यहाँ हामीले नेपालमा पाइने विभिन्न प्रकारका माटोको चर्चा गरेका छौं। यसबाट किसानले आफ्नो उत्पादनबारे जानकारी पाउन सक्दछन्।

(क) पाँगो माटो :– तराई प्रदेश र बेसीमा पाँगो माटो पाइन्छ। नदीले थुपारेको माटो र बालुवामा कुहिएको झारपातसमेत मिली बन्ने यो माटोमा बालुवा र चिम्टे माटोको मात्रा करिब बराबर हुन्छ। यस किसिमको माटोमा चुन, फस्फोरस र पोटास आदि खनिज तत्वको मिश्रण हुन्छ। यसैले यो माटो कृषि कार्यका लागि उत्तम मानिन्छ। धान, सनपाट, उखु, सुर्ती, तेलहन आदि यो माटोमा ज्यादै सप्रिन्छ।

(ख) बलौटे पत्थरिलो माटो :– भाबर प्रदेश, भित्री मधेश र चुरे पहाडमा यस किसिमको माटो पाइन्छ। यो माटो नदीद्वारा जम्मा भएका बालुवा, कन्कड, पत्थरजस्ता खुकुला खस्रा पदार्थ मिली बनेको हुन्छ। मलिलो माटोको अनुपात र जैविक पदार्थ कम हुने यो माटोमा पानी अड्दैन र माटोको उर्वरा शक्ति पनि अति कम हुन्छ। यस्तो माटोमा सिँचाइ गर्न कठिन हुन्छ। यो कृषि कार्यका लागि तल्लो स्तरको माटो हो। तर, साल, सिसौ आदि आर्थिक दृष्टिले महत्वपूर्ण रूखहरू यस्तो माटोमा ज्यादै सप्रिने हुँदा यस्तो माटोको अधिकांश भाग जङ्गलले ढाकिएको छ।

(ग) रातो फुस्रो माटो :– महाभारतका ठाडा भीरहरूमा टुक्रिएका चट्टानमा सडेका झारपात मिलेर बनेको माटोलाई रातो फुस्रो माटो भनिन्छ। किनकी यस माटोको जैविक पदार्थ र ओजनीकृत फलामको मात्रा कम हुने हुँदा यस क्षेत्रमा माटोको रंग रातो, फुस्रो वा पहेंलो हुन्छ। चुन, नाइट्रोजन र फोस्फोरसजस्ता खनिज तत्व कम हुने र माटोको गहिराइ पनि कम हुने हुँदा यस किसिमको माटोमा धान, उखु, सनपाट, सूर्ति आदि खेती प्रायः गरिँदैन। तर, यस्तो माटोमा अम्ल, फलामजस्ता खनिज तत्व हुने हुँदा फलफूल, चिया, आलु, मकै, कोदोको खेती गर्न उपयोगी हुन्छ।

(घ) तलैया माटो :– उपत्यकाका ताल सुकेर बनेको माटोलाई तलैया माटो भनिन्छ। यस किसिमको माटोमा प्रशस्त सडेका झारपात मिलेको हुँदा माटोको रङ्ग कालो हुन्छ। माटोको गहिराइ बढी हुनका साथै जैविक पदार्थ पनि प्रशस्त हुने हुँदा तलैया माटो कृषिका लागि सर्वोत्तम मानिन्छ। खासगरी यो माटोमा धान, गहुँ, सागपात राम्ररी सप्रिन्छन्। यस किसिमको माटोमा कम वर्षामा पनि खेती गर्न सकिन्छ। काठमाडौँ उपत्यकामा यस्तै माटो पाइन्छ।

(ङ) हिमाली माटो :– हिमनदीले थुपारेको माटो, बालुवा, कङ्गड, पत्थर आदि मिलेर हिमाली माटो बन्दछ। खासगरी नेपालको भित्री र उच्च हिमाली क्षेत्रको फेदीमा यस किसिमको माटो पाइन्छ। हावापानी ठण्डा र शुष्क हुने तथा माटोको गहिराइ एवं जैविक पदार्थ कम हुने हुँदा यसको उर्वराशक्ति न्यून हुन्छ। यो माटोमा मकै, जौ, आलु, फापरजस्ता बालीमात्र लगाइन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्