काठमाडौं। कृषि विकास बैङ्कको क्रिडेन्सीयल ह्याकिङ गरी एक करोड रकमसहित फरार भएका दीपक नेपाललाई प्रहरीले पक्राउ गरेको छ। मोरङ्गको रङ्गेली नगरपालिका २ बस्ने दीपकले नाइजेरियन र भारतीय नागरिकसँगहरु मिलेर बैङ्क तथा वित्तीय संस्थाहरुबाट ५ अर्ब नेपाली रुपैयाँ भन्दा बढी लुट्ने योजना बनाएका थिए।
सोही योजना अनुसार विभिन्न नेपाली नागरिकहरुलाई प्रयोग गरी कृषि विकास बैङ्क ह्याक गरी रकम निकालेका थिए।४३ वर्षीय नेपाललाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गत पुस १८ गते पक्राउ गरेको थियो। महाशाखाका प्रमूख एसएसपी सहकुल थापाका अनुसारका अनुसार उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ।
कृषि विकास बैङ्कको रकम निकाल्ने मुख्य योजनाकार अफ्रिकी मुलका काले भनिने पिटर रहेको प्रहरीले जनाएको छ। नेपालका बैङ्कहरुबाट ५ अर्ब नेपाली रुपैयाँ भन्दा बढी रकम निकाल्ने योजना नै पिटरेको रहेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ। यसअघि यस प्रकरणमा १६ जनालाई पक्राउ गरिसकेको छ।
कृषि विकास बैङ्क श्रोतका अनुसार बैङ्कको लहान शाखाबाट विभिन्न ७ जना व्यक्तिको नाममा रकम ट्रान्सफर गरिएको थियो। ७ जना व्यक्तिका नाममा करिव ४ करोड रुपैयाँ ट्रान्सफर गरिएको थियो। जसमध्ये डेढ करोडभन्दा बढी रुपैयाँ उनीहरुले निकालिसकेका थिए भने बाँकी रकम निकाल्ने क्रममा दुई जना पक्राउ परेका थिए।



लाेकपाटी न्यूज

