एउटै कुलोबाट पुरुगाउँमा सिँचाई र बत्ति

pic
लाेकपाटी न्यूज

उपेन्द्र न्यौपाने/ जुम्ला, १९ पुस । यहाँको तिला गाउँपालिकाका दुर्गम पुरु गाउँमा एउटै कुलोलाई बहुउपयोगी प्रयोग गर्दै सिँचाईका साथै बत्ति बालेर गाउँ झिलिमिली पारिएको छ। नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रम अन्तरगत स्थानीय संस्था पेस नेपालले निर्माण गरेको ‘खाद्य सुरक्षा र जलवायु अनुकुलताको क्याप्स कर्णाली’ परियोजना अन्तरगत निर्माण गरिएको पक्कि कुलोले सो गाउँको १६ हेक्टर जमिनमा सिचाई भएको छ।

जम्मा एक हजार एक सय ७५ मिटर लम्वाई भएको कुलोको पेस नेपालले पाँच सय ८८ मिटर पक्कि कुलो बनाएपछि सजिलै सिँचाई भएको वडा नम्बर ७ का वडाध्यक्ष सन्तविर रावतले जानकारी दिए। उनका अनुसार सोही बत्तिबाट ११ किलोवाट बिजुलीसमेत बालिएको छ।

जम्मा एक सय १८ घरधुरी रहेको सो पुरुगाउँमा पक्कि कुलो निर्माणपछि बिजुलीसमेत बाल्न सजिलो भएको स्थानीय लसुनडाडी बहुउद्देश्य सिँचाई योजनाका सचिव नरेन्द्र बि.कले जानकारी दिए। उनका अनुसार सिँचाई, बत्तिसँगै घट्ट पनि सञ्चालनमा ल्याउने तयारी थालिएको छ। रु ५२ लाख रुपैयाँको लागतमा २०७६ साल असोजबाट उपभोक्ताद्धारा शुरु गरिएको कुलोको निर्माण कार्य सम्पन्न भएको पेस नेपालका कार्यकारी अध्यक्ष किश्वर न्यौपानले जानकारी दिए।

उनका अनुसार सिँचाई कुलोमा काम गर्ने कामदारहरुको सिधै खातामा रकम हलिने छ। कामदारहरु पनि विपन्नताको आधारमा बाँडफाड गरिएको थियो । सोही अनुसार रोजगार पाएका छन्। सो सिँचाई कुलोमा ७८ जना क बर्ग, २९ जना ख बर्ग, १२ जना ग र २ जना घ बर्गको छनौट गरी काम गरेका थिए।

सिँचाई कुलोमा भने गुणस्तरीय काम भएको संयुक्त अनुगमन टोलीले जनाएको छ। गैर सरकारी संस्थालाई सरकारले दिएको कामको उपयोग भएको गैर सरकारी संस्था महासंघ नेपाल जुम्लाका अध्यक्ष अमर रोकायाले जानकारी दिए।

कुलोले एकातिर सिँचाई सहित खाद्य बालि उत्पादनमा सहयोग गर्ने भएकाले जलवायू अनुकुलतामा सहयोग पुग्ने र अर्को बिजुली वाल्न सकिनु धेरै राम्रो काम भएको गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले बताए। उनका अनुसार एकातिर सिँचाई, अर्का बिजुली र अर्को स्थानीय स्तरमै घट्ट बनाउन सकिने सम्भावना अनुसार गाउँपालिकाले पनि समन्वय गरेर राम्रो काम गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्