अस्मिना पाण्डे/बुटवल, १६ पुस। तपाई संसारमा सबैभन्दा बढी विश्वास कसको गर्नुहुन्छ ? आमाको बुवाको आफनै श्रीमानको, वा छोराछोरीको ? हामी झट्ट विश्वास गर्ने भनेको आफनो परिवार वा आफन्तलाई नै हो। तर, आफन्तबाटै हामी बेचिन्छौ भन्ने त हामीले कल्पना पनि गरेका हुँदैनौं। हाम्रो समाजमा यही भइरहेको छ।
कतै धेरै पैसा कमाउने प्रलोभन, कतै राम्रो जागिर लगाइदिने बहाना, कतै राम्रो डान्सर बनाइदिने सपना देखाएर हाम्रा चेली ठगिइरहेका छन् र बेचिइरहेका छन्, यसैगरि कलिला बालिकाको अस्मिता लुटिइरहेको छ। मानव बेचबिखनका अनेक बहाना सुन्दा सपना हो वा बिपना हामी छुट्याउन सकिरहेका हुँदैनौं, अझै स्वयं भोग्नेलाई कस्तो भइरहेको होला। आफनै श्रीमानले समेत २ वर्षको बच्चासहित आफ्नी श्रीमतीलाई यौन ब्यवसायमा संलग्न गराउन सक्ला र ? अनुसन्धान गर्दै जाँदा यस्ता समेत पीडित भेटिए। यस्ता थुप्रै उदारहण सुनाइन्, माइती नेपाल रुपन्देहीकी कार्यक्रम संयोजक माया क्षेत्री।
माइती नेपाल रुपन्देहीले एक वर्षको अवधिमा सीमा नाकामा रहेर गरेका कार्य प्रगतिका बारेमा मंगलबार भैरहवामा पत्रकार सम्मेलन गरी जानकारी गराएकोे छ। रुपन्देहीको १ वर्षको तथ्याङ्क हेर्दा मानव बेचबिखनको संख्या डरलाग्दो देखिएको छ। १ वर्षको अवधिमा नेपाल भारत सीमा नाका रुपन्देहीको बेलहिया नाका हुँदै तेस्रो मुलुकसम्म बेचबिखनका लागि लैजादै गर्दा २४२ जनाको उद्दार गरिएको माइती नेपालका रुपन्देहीका कार्यक्रम संयोजक क्षेत्रीले जानकारी दिइन्। बेचिएका र छिमेकी राष्ट्र भारतबाट उद्दार गरिएकामा धेरै महिला, बालबालिका, बिपन्न परिवार, परिवारको संरक्षण नरहेका, दलित रहेको संयोजक क्षेत्रीले बताइन्।
क्षेत्रीका अनुसार आफन्तको प्रलोभन र बढ्दो सामाजिक सञ्जालको प्रयोगका कारण पनि नेपाली युवती भारतीय कोठीमा पुग्ने गरेका छन्। खुला सीमा नाका हुनु, २४ सै घण्टा सीमामा सरकारी संयन्त्रको अभावका कारण पनि मानव बेचबिखनको सख्या दिनहुँ बढिरहेको देखिन्छ। मानव बेचबिखनमा न्यूनिकरण गर्नका लागि स्थानीय, प्रदेश र संघीय तिनै तहका सरकार कडा संयन्त्रका साथ सीमा नाकामा तैनाथ हुनुपर्ने आजको आवश्यकता भएपनि त्यसो हुन नसकेको क्षेत्रीको गुनासो छ।
माइती नेपालद्धारा रुपन्देही जिल्लामा १ जनवरीदेखि ३१ डिसेम्वर २०१९ को अवधिमा मानव बेचबिखन तथा ओसारपसार रोकथाम सम्वन्धी गरिएको कार्यको विवरण हेर्दा बेचबिखनको स्थिति डरलाग्दो देखिन्छ। यस अवधिमा २४२ को सीमा नाकाहरुबाट उद्धार, १४ को भारतका विभिन्न ठाउँबाट उद्धार गरिएको छ। त्यसैगरी मानव बेचबिखनमा २ वटा मुद्धा दर्ता भएका छन्, नेपालले सीमामा परामर्श, पीडितका पक्षबाट निवेदन दर्ता र सचेतना कार्यक्रमहरुसमेत सञ्चालन गरेको जानकारी दिएको छ।



लाेकपाटी न्यूज
