काठमाडौं, १५ पुस । रामविलास महतो उखु खेती गर्ने किसान हुन्। बारीका उखु चिनी उद्योग हुँदै कहाँ कहाँ पुगीसक्यो, उनको पोल्टामा ५ रुपियाँ पनि परेको छैन। ऋण खोजेर न्यायका लागि उनी काठमाडौं आएका छन्। उनी माइतीघर मण्डलामा भएको प्रदर्शनमा सरिक भए, आफ्नो पसिनाको मोल माग्दै।
सर्लाहीका महतोले आँसु झार्दै भने, ‘मालिक भाग्यो, अब मर्ने कि के गर्ने ?’ सरकारले आफ्ना पीडा सुनेर भगौडा चिनी मिल सञ्चालकसँग भुक्तानी गराइदिए हुन्थ्यो भन्ने उनको अपेक्षाले काठमाडौंसम्म डोहोर्यायो। चिनी मिलमा धर्ना, अनशन बस्दा कतैबाट पनि सम्बोधन हुन नसकेपछि संघीय सरकारमार्फत् आफ्ना अप्ठेरो अवस्थालाई सुल्झाउने काम हुन्छ कि भनेर उनीलगायतका ७ औं हजार किसान काठमाडौंमा छन्। महतोको झैं उनीहरूका पनि आँखा टिलपिल छन्। २७ लाखसम्मको भुक्तानी लिन बाँकी छ, एउटा किसानले।
अन्नपूर्ण मिल, महालक्ष्मी मिलका सञ्चालकहरू ‘किसानमारा’ नियत राख्ने व्यक्ति हुन्। अति भएपछि सरकारको ध्यानाकर्षण गराउनका निम्ति पीडित काठमाडौं आएका हुन्। राजनीतिक दलमा पहुँच र पदमा रहेका सञ्चालकले प्रभावका आधारमा नै किसानलाई पीडा दिँदै आएको उनीहरूले बताए। यहाँसम्मकी संसदका समितिमा पनि आफ्ना पीडा सुनाएर न्यायको खोजी गरेका छन्। तर कृषिमन्त्री घनश्याम भुसालले उद्योग मन्त्रालयमार्फत पाएको जानकारीअनुसार मिल सञ्चालक सम्पर्कमा छैनन् भन्ने जवाफ दिए । खोजी गर्ने आश्वासन पनि दिएका छन् ।
अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवालले सर्लाहीका हजारौं किसानको रकम दिएका छैनन्। किसानलाई मर्कामा राख्ने अग्रवाल अहिले सम्पर्कमा पनि छैनन्। उखु किसानहरूले सरकार र उद्योगबाट तीन अर्ब भन्दा बढी भुक्तानी पाउन बाँकी छ । त्यसका लागि पनि घचघच्याउन आएको किसानहरूले बताए ।



लाेकपाटी न्यूज

