नेपाल पर्यटन बोर्डका पूर्वसिइओ दीपकराज जोशीले भ्रमण वर्ष सफल हुने बताउँदै त्यसका लागि पर्याप्त प्रचारप्रसार भएको स्पष्ट बताएका छन्। मंगलबार रिपोर्टस् क्लवमा बोल्दै उनले उक्त कुरा बताएका हुन्।
भ्रमण वर्षको मुख्य उद्देश्य भनेको देशभित्रका पर्यटकीय गन्तव्य चिनाउनु रहेको उनले बताए। उनले भने, ‘पर्यटनलाई आईसोलेसन गर्नै मिल्दैन् । योसँगै विभिन्न सेक्टर जोडिएका हुन्छन्।’ उनले भ्रमण वर्ष २०२० को स्रोत बजारमा व्यापक प्रचारप्रसार भएको दाबी गरे।
उनले भने, ‘विभिन्न देशका प्लाटफार्ममार्फत प्रचार भएको छ। ट्रेड र कन्जुमर फोकस भएका थियौं। चिनियाँ एक्स–ट्रिपले पनि सहयोग गरेको छ। चिनियाँ नायिका स्वी छिङ जो समर क्विन भनेर परिचित छिन्, उनले पनि २ पटक नेपाल भ्रमण गरिन्। उनको अहिले पनि दुई करोड फलोअर्स छन्।’ भ्रमण वर्ष सफल बनाउनका लागि व्यापक प्रर्वद्धन भएको सुनाए।
उनले नेपालको पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार विकासमा पनि ध्यान दिनुपर्ने बताए। उनले भने, ‘काठमाडौंका सडकको अवस्था सुधार्नुपर्छ। काठमाडौंमा पर्यटकीय गन्तव्य बनाउनुपर्छ। काठमाडौं उपत्यकाबाहिर समस्या छैन।’
पर्यटनमन्त्री योगेश भट्टराईले भ्रमण वर्षलाई दशकको अभियानकै रुपमा अघि बढाउने घोषणा गरेकाले सो कदम प्रशंसनीय भएको सुनाए। उनले भने, ‘सरकारले पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ। भ्रमण वर्ष २०२० लक्ष्य प्राप्त हुन्छ।’ नेपालले पर्यटन क्षेत्रलाई ह्याण्डल गरेको ६० वर्षको इतिहास भएको सुनाउँदै नेपाल पर्वतीय गन्तव्यबाहेक अरु पनि धेरै कुरा रहेको जोशीको भनाइ छ।
उनले भने, ‘हामी कल्चरमा धनी छौं, हेरिटेजमा त्यस्तै छौं, हामीसँग पर्यटकीय गन्तव्यहरु धेरै छन्। यी सबैमा लाइफटाइम एचिभमेन्टको थिममा जानुपर्छ। आउने दशक सोहीअनुसार काम हुन्छ।’ उनले भ्रमण वर्ष सफल हुनेमा आफू पूर्ण विश्वस्त रहेको सुनाए। भ्रमण वर्षको सम्पूर्ण तयारी पूरा भएको उनले जनाए।



लाेकपाटी न्यूज

