भ्रष्टाचार आरोपी निसानका पूर्वप्रमूख लेबनान पुगे

Former-Nissan-boss-Carlos-Ghosn pic
लाेकपाटी न्यूज

काठमाडौं। आर्थिक अनियमितताको अभियोग लागेका निसानका पूर्वप्रमूख कार्लोस गोन्स जापान छोडेर लेबनान पुगेका छन्। सञ्चारमाध्यमहरुमा आएका समाचार अनुसार भ्रष्टाचारको अभियोग लागेका कार्लोस लेबनानको बेरुत पुगेका हुन् ।

एक लेबनानी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले कार्लोस बेरुत पुगेको तर उनले कसरी जापान छोडे भन्ने थाहा नभएको उल्लेख गरेको छ। आर्थिक अनियमितताको अभियोगमा कार्लोस सन् २०१८ मा पक्राउ परेका थिए र उनीमाथि भ्रष्टाचार तथा अनियमितताका विभिन्न अभियोग छन् । जापानमा आफूमाथि लागेका मुद्दाको सुनुवाइको पर्खाईमा रहेका कार्लोस अप्रत्यासित रुपमा लेबनान पुगेका हुन् ।

उनलाई जमानतमा रिहा गर्न स्पष्ट रुपमा अस्वीकार गरिएको थियो । तर जापान छोडेर उनी लेबनान पुगेको खबर आएसँगै घटनाले गम्भीर मोड लिएको छ।उनले आफूमाथि लागेका सबै आरोपहरु अस्वीकार गर्दै आएका छन् र कुनै पनि किसिमको गलत काम नगरेको उनको दाबी छ ।

लेबनान जानका लागि उनले जापानका अधिकारीहरुसँग सम्झौता गरे या उनी भागेका हुन् भन्ने बारे केही खुलेको छैन । व्यवसायी कार्लोससँग फ्रेन्च र लेबनिज पासपोर्ट छ। उनी टर्कीबाट लेबनानका लागि उडेको निजी जेटमार्फत् बेरुत पुगेको फ्रान्सेली पत्रिका लेस इकोले जनाएको छ।