श्रीमान-श्रीमतिकाे आन्तरिक मामिलामा सरकार चासाे दिँदैछ

prakash panthi
लाेकपाटी न्यूज

काठमाडौं, १४ पुस। राष्ट्रियसभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले नेपाल विशेष सेवा विधेयक अस्वीकार्य रहेको बताए। फरक विचार र दलका मान्छेलाई ठाउँको ठाउँ सिध्याउने उद्देश्यले सरकारले यो विधेयक राष्ट्रियसभामा पेश गरेको भन्दै सांसद पन्थले विरोध गरे।

‘फरक विचार, फरक दललाई मात्र होइन आफ्नो पार्टीका फरक विचार राख्नेलाई ठाउँको ठाउँ सिध्याउन यो विधेयक ल्याइएको सांसद पन्थले बताएका हुन्। उनले जनताको निजी जीवनमा राज्य सिधैं हावी हुन खोजेको समेत आरोप लगाए।

टेलिफोन कुराकानीदेखि सामाजिक सञ्जालमा हुने कुरा सरकारले सुन्ने पनि उनको भनाइ थियो। ‘निजी जीवनमा सरकार सिधैं हावी भयो। श्रीमान्-श्रीमतीबीच हुने सबै कुरा अब सरकारले सुन्ने छ र हेर्नेछ,’ उनले भने, ‘बिहे गर्ने उमेरका भाइ बहिनीहरू प्रेममा पर्नुभएको छ र टेलिफोनमा कुराकानी गर्नुहुन्छ भने यो सरकारले सुन्नेछ।’

उनले समाचार लेख्ने पत्रकार पनि होसियार हुनुपर्ने बेला आएको बताए। ‘यो विधेयकले सेन्सरसिपलाई बढवा दिन्छ,’ उनले भने, ‘म्यासेज लेख्दा वा समाचार पठाउँदा होस् पु¥याउनुपर्छ। किनभने सम्पादकले भन्दा पहिले सरकारले हेर्छ।’ विधेयकले नागरिकको मौलिक हक तथा स्वतन्त्रता खोजेको पनि उनले तर्क गरे।
‘यो संविधानविपरीत छ,’ उनले भने।

राष्ट्रिय अनुसन्धान हुँदा हुँदै किन प्रतिजासुसी चाहियो भन्दै उनले प्रश्न गरे। विधेयकमा उल्लेख भएका अधिकार प्रचलित कानूनमै रहेको पनि उनले बताए। सांसद पन्थले विरोधको सूचना पनि दर्ता गरे।
पन्थले गरेको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्