काठमाडौँ। विज्ञ इन्जिनियरले विश्व सम्पदा क्षेत्र वरिपरि पर्ने भवन, मन्दिर लगायतको पुननिर्माण गर्दा ध्यान दिनु पर्ने बताएका छन्। पुरातात्त्विक मूल्य मान्यतालाई जीवन्त राख्ने गरी ती ठाउँका भवन निर्माण गर्नु पर्नेमा उनीहरूले जोड दिएका हुन्।
नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरमा सोमबार आयोजित अन्तर संवाद कार्यक्रममा विज्ञ इन्जिनियर घनश्याम पौडेलले पुरातात्त्विकमैत्री मूल्य मान्यताहरूलाई स्वीकार गर्ने योजनाका साथ काम गर्नु पर्ने बताए। नेपालको लुम्बिनीको मायादेवी मन्दिरको डिजाइनसमेत गरेका इन्जिनियर पौडेलले पुरातात्त्विक सम्पदाहरूलाई नष्ट गर्न नहुने बताए।
विश्व सम्पदा सूचिमा सूचिकृत क्षेत्रमा भवन, मन्दिर निर्माण पुननिर्माण गर्दा युनेस्कोको प्रावधानबारे इन्जिनियरिङ अध्ययनरत विद्यार्थीलाई जानकारी दिन पुगेका उनले त्यो प्रावधान मिट गर्न नयाँ पुस्ताका इन्जिनियर सचेत हुनुपर्ने खाँचो औँल्याए।
उनले त्यो प्रावधान मिट गर्न के कस्ता चुनौती आउन सक्छन् र त्यसलाई आर्किटेक्ट, इन्जिनियरहरूले कसरी फेस गर्नुपर्छ भन्नेबारे जानकारी दिएका थिए। कार्यक्रमपछि नेकका प्रिन्सिपल प्राडा हरिकृष्ण श्रेष्ठले उनलाई मायाको चिन्ह प्रदान गरेका थिए ।



लाेकपाटी न्यूज

