काठमाडौं। प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित गरेको छ। समितिको आइतबार बसेको बैठकले कांग्रेसको फरक मतका बावजुत विधेयक बहुमतले पारित गरेको हो।
समिति सभापति कल्याणीकुमारी खड्काले विधेयक बहुमतले पारित भएको र कांग्रेसले राखेको फरक मत बहुमतले अस्वीकार गरेको घोषणा बैठकमा गरिन। विधेयकमा सामाजिक सञ्जाल दर्ता गर्नुपर्ने प्रावधान छ। त्याे प्रावधानकाे काग्रेसले विरोध गर्दै आएको थियो।
समितिमा रहेका नेकपा सांसदहरुले विधेयकको पक्षमा मत दिएका हुन्। कांग्रेसका सांसदले भने विधेयकमा रहेका कतिपय व्यवस्थाले व्यक्तिको स्वतन्त्रता र गोपनियतासहितका मौलिक हकमा असर गर्ने भन्दै फरक मत राखेको हो।
कांग्रेसका सांसद बहादुर सिंह लामाले सामाजिक सञ्जालमा कुनै व्यक्ति वा विषयमा आलोचनात्मक टिप्पणी गर्दा कडा कारवाही गर्ने व्यवस्थाले व्यक्तिको स्वतन्त्रतामा हनन गर्ने भएकाले बहुमतका आधारमा पारित नगर्न आग्रह गरे।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले विश्वका विभिन्न देशले बनाएका कानूनअनुसार नै कानून बनाएको बताएका छन्। उनले भने, ‘कुनै व्यक्तिलाई नियन्त्रण गर्न नभइ विकृतिहरूको नियमन गर्न कानून बनाएका हौं।’



लाेकपाटी न्यूज

