म सधैं राजनीतिक स्थिरताकाे पक्षमा छु : प्रचण्ड

Prachanda Photo
लाेकपाटी न्यूज

चितवन, ९ पुस। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनैतिक स्थिरता कायम राख्नु पर्नेमा जोड दिएका छन्। झण्डै सात वर्षपछि देशमा राजनैतिक स्थिरता कायम भएकोभन्दै यसलाई जोगाउन सबै एकजुट हुनुपर्ने बताए।

चितवनको रत्ननगरमा बुधबार नेपाल जेसिजको ४६ औं महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले राजनीतिक सहमती र प्रमूख दलका नेतृत्वबाट भएकाले राजनैतिक स्थिरता बिग्रन नदिन सबैलाई सचेत रहन आग्रह गरे। राजनीतिक शक्ति मिलेकै कारण र जनताको अभिमतबाट देशमा राजनीतिक स्थायित्व आएको बताउदै प्रचण्डले त्यसका लागि लामो त्याग, तपस्या गरेकाले यसलाई जोगाउन सबैको दायित्व भएको बताए।

‘हाम्रा छिमेकी दुई देश अन्तर्राष्ट्रिय शक्ति बन्दै गइरहेकाले त्यो इन्टे«ष्टबाट पनि मुलुक भित्र केही कुनै काम हुन् सक्छ’ उनले भने ‘त्यही भएर विवेक पुर्‍याएर सबैले भौगोलिक अखण्डता जोगाउन सबैले ध्यान दिन जरुरी छ ।’ नेपाल सानो देश भनिएपनि यो भन्दा पनि धेरै साना देशहरु रहेको बताउदै उनले साना भए पनि नेपाल राजनीतिक स्थायित्वसँगै विकास निर्माणमा धेरै अगाडि रहेको बताए। उनले नेपालले प्राप्त गरेको शान्ति प्रक्रिया, शान्ति सम्झौता, लोकतान्त्रिक संविधान र अहिले भइरहेको विकासले अन्तर्राष्ट्रिय क्षेत्रमै धेरैको ध्यान पुगेको बताए।

अहिले म कसरी यो स्थानमा र भुमिकामा आए सम्झना गर्दै उनले त्यतिबेला आफूले युवाहरुको नेतृत्व गरेको सम्झना गरे। उनले कुनै बेला आफू पनि युवाहरुको संस्थापक अध्यक्ष नै भएर काम गरेको छु, यो स्थानसम्म आइपुग्न पनि युवाकालमा सिकेका धेरै चिजले मलाई मद्धत पुगेको छ भन्दै यो हाईपोथेटिकल लाग्न सक्छ, तर त्यस्तो नभएको दाबी गरे।

जेसिजका युवाहरुलाई लक्षित गर्दै उनले संसार तपाईको हो र हाम्रो पनि हो। त्यसमा पनि मूख्य गरेर युवाहरुको हो। त्यसैले उदाउदो सूर्य जस्ता रहेको अनुशासनमा रही सभ्य समाज बनाउने संकल्पका साथ अगाडि बढ्न आग्रह गरे।