एमसीसीबारे गलत हल्ला फैलाइयोः परराष्ट्रमन्‍त्री

Pradeep_gyawali
लाेकपाटी न्यूज

काठमाडौं। परराष्ट्रमन्‍त्री प्रदीप ज्ञवालीले अमेरिकासँग गरिएको मिलेनीअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) राष्ट्रिय हितको पक्षमा रहेको बताएका छन्। राष्ट्रिय सरोकार तथा समन्वयन समितिको बैठकमा परराष्ट्र मन्त्री ज्ञवालीले एमसीसीको विरोध गर्नुको औचित्य नरहेको स्पष्ट पारे।

उनले भने, ‘यसलाई पैसासँग मात्र तुलना गर्ने होइन। यो सम्झौताले हाम्रो राष्ट्रिय हितलाई केही हानी गर्दैन।’ नेपालीहरुले यसलाई पैसासँग मात्र तुलना गर्नु नहुने बताएका छन्। उनले उक्त सम्झौता राष्ट्रिय हितका लागि नै भएकोले गलत नबुझ्न पनि आग्रह गरेका छन्। एमसीसी सम्झौतालाई इन्डोप्यासेफिकसँग जोडेर गलत हल्ला र प्रचार भएको समेत बताए।

‘सम्झौतामा मन्त्रीले गरेको हस्ताक्षरमा विश्वास नगर्ने बाहिर अरुले के–के भन्छन् त्यही पत्याउने, त्यो राम्रो भएन’, उनले भने। उनले एमसीसीबारे अनावश्यक शंका र भ्रम रहेको भन्दै भ्रम नपाल्न र शंका नगर्न समेत आग्रह गरे। एमसीसीलाई इन्डो प्यासेफिकसँग जोड्न आवश्यक नरहेको उनको भनाइ थियो।

‘यसमा सामरिक स्वार्थ जोडिएको छैन। यसलाई इन्डोप्यासिफिक रणनीतिको कुनै पनि अंगका रूपमा हेर्नु हुँदैन। यो सम्बन्ध सैन्य गठबन्धनसँग जोडिएको छैन,’ उनले भने।

ज्ञवालीले भने, ‘यो सम्झौता कोसँग गरिरहेका छौं भन्‍ने तिर नजाऊँ हामीले कस्तो परिस्थितिमा गरिरहेका छौं भन्नेतिर जाऊँ।’ उनले यसलाई संसद्‌बाट अनुमोदन गर्नुपर्नेमा जोड दिए।

‘हामीले अध्ययन गरेर उर्जा तथा सडकमा लगानी गर्दा उचित हुने भएपछि एमसीसीको सम्झौता गरिएको हो। नेपालकै अवस्थाका कारण यो एमसीसी सम्झौता ढिलो भएको हो,’ उनले भने, ‘हिउँदे अधिवेशनमा एमसीसी हुने गरी अगाडि बढाइन्छ। अनुमोदन हुन्छ, त्यसमा कोही अलमलिनुपर्दैन।’

तर सत्तारुढ दल नेकपाभित्र यसबारेमा विवाद भइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्