सरकारलाई दिएको समर्थन समाजवादीले लियो फिर्ता

Samajbadi
लाेकपाटी न्यूज

काठमाडौं। समाजवादी पार्टी नेपालले सररकालाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बिहान बसेको पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकको निर्णय सुनाउन पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजना गरिएको पत्रकार सम्मेलनमा समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको हो।

समाजवादीले समर्थन फिर्ता लिएसँगै सरकारले दुई तिहाइ बहमतको हैसियत गुमाएको छ। प्रतिनिधिसभामा समाजवादी पार्टीका १७ जना छन्। दुईतिहाइ पुग्‍न एक सय ८४ जना सांसद आवश्यक पर्छ। नेकपासँग एक सय ७४ सांसद छन्।

समाजवादी पार्टी १९ महिनाअघि सरकारमा सहभागी भएको थियो। मंगलबार मात्र पार्टीबाट सरकारमा सहभागी उपप्रधानमन्त्री तथा कानुनमन्त्री उपेन्द्र यादव, शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले राजीनमा दिएका थिए।

‘संविधानको धारा ७६ को उपधारा २ अनुसार गठन भएको केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिई आजैका मितिदेखि लागु हुने गरी संसदमा प्रतिपक्षमा रही रचनात्मक र श्रृजनात्मक रुपले सकारात्मक भूमिका निर्वाह गर्ने व्यहोरा जानकारीका लागि अनुरोध छ,’ यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

मंगलबारमात्रै सरकारबाट बाहिरिने निर्णय गरेको समाजवादी पार्टी २०७५ जेठ १४ गते २ बुँदे सहमति गर्दै सरकारमा सहभागि भएको थियो। सहमतिका संविधान संशोधन गर्ने मुख्य माग थियो। पार्टीका तर्फबाट ओली सरकारमा अध्यक्ष यादव उपप्रधानमन्त्री तथा कानुन न्याय तथा संसदीय मामिला मन्त्री र मोहम्मद इत्तिह्याक राई सहरी विकास मन्त्री थिए।