थम्मन थापा\ बागलुङ, पुस ९। दोस्रो हप्ता गलकोट नगरपालिका ७ मल्म आँगाखेतमा बृहत आँखा शिविर हुँदै छ।अहिले शिविरको लागि आवश्यक तयारी भइरहेको छ। न्यू नवज्योति युवा क्लबको आयोजना, सिर्जनशिल महिला समूह आँगाखेत र चिसापानी आमा समूह बामियाको व्यवस्थापन तथा गलकोट नगरपालिका वडा नम्बर ७ को समन्वयमा उक्त शिविर सञ्चालन हुन् लागेको हो।
ग्रामिण क्षेत्रका जनताको आँखाको समस्यालाई मध्यनजर गरि बृहत आँखा शिविर गर्न लागिएको न्यू नवज्योति युवा क्लबका महासचिव रुद्र केसीले जानकारी दिए। पुस १६ गतेदेखि १८ गतेसम्म मल्म स्वास्थ्य चौकी आँगाखेतमा सञ्चालन हुने आँखा शिविरमा नाम दर्ताको लागि रु २ सय लाग्नेछ भनें अन्य सबै काम निशुल्क हुनेछ।
शिविरमा निशुल्क आँखा चेकजाँच, निशुल्क आँखा अप्रेशन, मोतिया बिन्दु, जलविन्दुको निशुल्क अप्रेशन र डक्टरको सल्लाह बमोजिम आवश्यकता अनुसार निशुल्क चश्मा वितरण गरिने क्लबका महासचिव केसीले बताए । शिविर सफल पार्न सोमबार अन्तरकृया कार्यक्रम गरिएको छ। वडा सरकार, अग्रणी सामाजिक संस्था घुम्टे युवा परिवार, सिर्जनसिल महिला समूह र चिसापानी आमा समूहबीच अन्तरकृया गरिएको हो।
अन्तरकृयामा प्रचार प्रसार, आर्थिक व्यवस्थापन, शिविरस्थल व्यवस्थापन, डाक्टरहरुको लागि भोजन तथा अन्य व्यवस्थापन अन्य आवश्यक व्यवस्थापकिय पक्षको बारेमा छलफल गरिएको थियो। शिविरको लागि क्लबले झण्डै रु ६ लाख रुपैयाँ खर्च गर्न लागेको कोषाध्यक्ष टेकनाथ गौतमले जानकारी दिए। ग्रामिण क्षेत्रका जनतालाई आफनै घर आगनीमा निशुल्क आँखा अप्रेशन, औषधी र चश्मा उपलब्ध गराउने गरी शिविर सञ्चालन गर्न लागिएको कोषाध्यक्ष गौतमले बताए।
आँखा शिविरलाई व्यवस्थित र आम जनतालाई सर्वसुलभ रुपमा सेवा प्रदान गरी राहतहोस् भन्ने उद्देश्यले शिविर सञ्चालन गर्न लागिएको क्लबले जनाएको छ। शिविरमा श्रीकृष्ण नेत्रालय रुपन्देही भैरहवाको प्राविधिक र आँखा रोग विशेषज्ञहरुको उपस्थिती रहने छ। शिविरमा आँखा रोग विशेषज्ञ डाक्टर शल्मा केसी सहित झण्डै आधा दर्जन डाक्टरहरु र उपकरणहरुको व्यवस्था गरिने भएको छ। क्लबले शिविरमा उपस्थित भई आफनो आँखा चेक जाँच गरि स्वास्थ्य लाभ लिन कल्वले सम्बन्धित सबैमा अपिल समेत गरेको छ।
कल्वले गएको २१ औं वार्षिकोत्सवमा बृहत आँखा शिविर सञ्चालन गर्ने उद्देश्य राखेर आर्थिक संकलन अभियान गरेको थियो। आँखा शिविरको लागि अहिले देश विदेशबाट क्लबलाई शुभचिन्तकहरुले आर्थिक सहयोगसमेत गरेका छन्।



लाेकपाटी न्यूज

