काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले नेपाली भूभाग फिर्ता गराउने विषयमा सरकार गम्भीर नरहेको आरोप लगाएका छन्। राष्ट्रियसभाको सोमबारको बैठकमा उनले भारतले सीमा मिचेको कुरालाई लिएर प्रधानमन्त्री ओलीले आवश्यक पहल नगरेको आरोप लगाएका हुन्।
उनले विगतमा भारतले नाकाबन्दी गर्दा चर्को आलोचना गर्ने प्रधानमन्त्री सीमा मिच्दासमेत मौन रहेको भन्दै आलोचना गरे। सुगौली सन्धिले निर्धारण गरेको सीमा कायम हुनुपर्ने विषयलाई सरकारले अडानका रूपमा राख्न नसकेको सांसद पाण्डेको भनाइ छ। उनले सीमा सुरक्षा र अतिक्रमणमा परेको भूमि फिर्ता गर्ने सम्बन्धमा भएका प्रयासबारे सदनलाई जानकारी गराउन पनि सरकारसँग माग गरेका छन्।
‘प्रधानमन्त्रीले के गरिरहनु भएको छ ? परराष्ट मन्त्रालयले के गरिरहेको छ ? सरकारका अन्य निकायहरूले के गर्दैछन्। यो समस्या कसरी समाधान हुन्छ ?’, सांसद पाण्डेले भने, ‘हामी नेपालीहरू स्पष्ट छौँ। कसैको हामीले के इन्च जग्गा मिच्नु पनि छैन। र, नेपालको एक इन्च जग्गा दिनु पनि छैन।’ नाकाबन्दीमा आगो ओकल्न तयार प्रधानमन्त्रीले अहिले भारतीय प्रधानमन्त्रीसँग किन कुरा गर्न सकेका छैनन् भन्ने कुराको जानकारी जनतालाई गराउन उनले माग गरे।
कालापानीलगायत क्षेत्र नेपालको भएको कुरा सरकारले भारतसँग राख्न नसकेको पनि पाण्डेको भनाइ थियो। ‘सुगौली सन्धिले निर्धारण गरेको सीमा कायम हुनुपर्छ भन्ने कुरा दृढताका साथ हामी किन राख्न सकिरहेका छैनौँ? यसको जवाफ प्रधानमन्त्रीले सदनमा आएर दिनुपर्छ। भारतसँग पनि यो समस्या समाधानका लागि तत्काल अग्रसरता लिनुपर्छ।’
भारतले राजनीतिक नक्सा सार्वजनिक गर्ने क्रममा नेपालको ४ सय वर्ग किलोमिटर भूमि मिच्ने काम भएको दाबी गर्दे सांसद पाण्डेले सीमामाथि धावा बोल्ने काम हुँदा पनि सरकार मौन बसेकोमा आक्रोश पोखेका थिए। उनले वर्तमान सरकारले भ्रष्टाचारमा कीर्तिमान कायम गरेको पनि आरोप लगाए।



लाेकपाटी न्यूज

