काठमाडौं। राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले नेपाल–भारतबीचको सीमा विवाद कुटनीतिक माध्यमबाट हल गरिनुपर्नेमा जोड दिएका छन्। शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले सो कुरा बताएका हुन्।
उनले भने,‘भारतसँगको सीमा विवाद जो छ, कालापानी, लिपुलेक र लिम्पियाधुराको विवाद, यो समस्या आजको होइन। ५०, ६० वर्षदेखि समस्या रहँदै आएको छ। हाम्रा सरकार यतिका वर्षसम्म कुम्भकर्णको निन्द्रामा सुत्न मिल्छ ? आँखामा पट्टी र कानमा तेल हालेर सरकार सुत्न मिल्छ ?’
उनले सीमा विवादको समाधान कुटनीतिक माध्यमबाट खोजिनुपर्ने कुरा दोहोर्याउँदै सडकमा नारा लगाएर समस्याको समाधान नहुनेपनि जिकिर गरे। उनले भने,‘दुतावासमा पुत्ला दहन गरेर समस्याको समाधान हुन्छ त ? यो समस्या समाधान गर्ने दायित्व सरकारभित्र पर्छ।’
उनले सरकारले आफूसँग भएको आधार र प्रमाणको आधारमा कुटनीतिक रुपमा विवाद र समस्याको समाधान गर्नुपर्ने सुझाव दिए। उनले भने,‘दुई देश छिमेकी भएपछि सीमा विवाद हुनु स्वभाविक हो । तर, यी विवाद र समस्यालाई सल्ट्याउनुपर्छ। दुई देशले आधार र प्रमाणको आधारमा विवाद सल्ट्याउनुपर्छ। हाम्रो पार्टीले प्रधानमन्त्रीले डाक्नुभएको सर्वदलीय/सर्वपक्षीय बैठकमा पनि आफ्नो सल्ला र सुझाव दिएको छ। सरकार जिम्मेवार भएर प्रस्तुत हुनुपर्छ।’
उनले सडकमा जुलुश निकाल्ने धन्दा ठीक नभएको पनि टिप्पणी गरे। उनले भने,‘जतिसक्दो चाँडो सरकारले यो विवादको समाधान गर्नुपर्छ।’ कार्यक्रममा उनले नेकपा र राजपा नेपालबीच भएको २ बुँदे सहमतिलाई लिएर संघीय सरकारमा आफूहरुको सहभागिता र २ नम्बर प्रदेशको सरकारमा असर पर्ने भनेर गरिएको अड्कलबाजीमा कुनै पनि सत्यता नभएको समेत बताए।



लाेकपाटी न्यूज

