आजदेखि काठमाडौंमा ‘ट्राफिक उज्यालो अभियान’ सुरु

Nepal police
लाेकपाटी न्यूज

काठमाडौं, १ पुस। समुदाय–प्रहरी साझेदारीअन्तर्गत ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्ने उद्धेश्यले तीन महिने ‘ट्राफिक उज्यालो अभियान’ महानगरीय ट्राफिक प्रहरी महाशाखामा मंगलबार आयोजित एक कार्यक्रमका बीच सुभारम्भ भएको छ।

कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत जनचेतनाका निम्ति सडक सुरक्षा कार्यक्रम एजेण्डाको रुपमा रहेको चर्चा गर्दै यस अभियान कार्यान्वयनका लागि सरोकारवाला निकायहरुको सहकार्य अतुलननीय रहेको उल्लेख गरे। साथै मानवीय त्रुटिमा कमी ल्याई सवारी दुर्घटनामा न्यूनीकरण गर्न अभियान सफल बनाउनुपर्ने समेत उनले बताए।

कार्यक्रममा नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौला, अखिल नेपाल यातायात मजदुर संगठनका अध्यक्ष सोम तामाङ र हिसानका कार्यबाहक अध्यक्ष युवराज शर्माले अभियानको महत्व तथा सफलताको शुभकामनासहित आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले अभियान बारेमा जानकारी दिएका थिए।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको आयोजना र सरोकारवाला निकायहरुका प्रतिनिधिहरुको उपस्थितिमा सडक प्रयोगकर्ता, पैदलयात्री, चालक/सहचालक, स्कुल/कलेजका विद्यार्थीहरुको सहकार्य र सक्रिय सहभागितामा ट्राफिक नियम सम्बन्धी चेतना अभिवृद्धि गरी उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप सुधार गर्ने उद्देश्यले उक्त अभियान सुभारम्भ गरिएको हो।

ट्राफिक सचेतना अवधारणालाई आम नागरिकसम्म पुर्‍याउने, ट्राफिक नियम पालना तथा सडक अनुशासन विषयलाई स्वतः आम प्रवृत्तिको रुपमा विकास गर्ने, सडक प्रयोगकर्ताहरुसँगको सम्बन्ध, सहयोग र सहकार्य अझै बढाउने, सडक दुर्घटनालाई न्यूनीकरण गरी धनजनको क्षति कम गर्ने, ‘समुदाय–प्रहरी साझेदारी’ अवधारणालाई नागरिकमैत्री बनाउँदै जनविश्वास आर्जन गर्ने र काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा थप सुधार ल्याउने उक्त अभियानको प्रमुख उद्देश्य रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

सो महाशाखा तथा मातहतका ४० वटा ट्राफिक कार्यालयहरुले लक्षित समूह पहिचान गरी अभियान संचालन गर्ने र तीन महिनामा एक लाख जनालाई सचेतना गराउने लक्ष्य रहनुका साथै समुदाय–प्रहरी साझेदारीमा आवद्ध पदाधिकारीसँग समन्वय गरी पर्चा, पम्पलेट, स्टिकर वितरण र श्रव्यदृश्य प्रदर्शनी मार्फत ट्राफिक नियमबारे सचेतना दिने, सरकारी, सार्वजनिक भाडा र नीजि क्षेत्रका चालकहरुलाई पायक पर्ने ठाउँमा सचेतना कक्षा लिने तथा स्कुल(कलेजका बिद्यार्थीहरुलाई कलेजरबिद्यालयमै गएर कक्षा लिने उक्त अभियान अन्तर्गत कार्ययोजना रहेको कार्यक्रममा जानकारी दिइयो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्