सिटौला र सिंहबीच भेट : के भयो कुराकानी ?

80133956_1386623774851579_4441059088155017216_n
लाेकपाटी न्यूज

काठमाडौं, १ पुस। नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधान गर्ने विषयमा केन्द्रित भएर नेपाली कांग्रेसका पूर्व महामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहबीच भेट भएको छ। सिंह निवास चाकसीबारी ठमेलमा भएको भेट पार्टी विवाद समाधानमा केन्द्रित भएको बताइएको छ।

नेता सिंहले पार्टीभित्रको विवाद समाधानका लागि पहल गरेका छन्। सोमबार उनले कांग्रेसभित्र देखिएको विवाद समाधान गरी केन्द्रीय समिति बैठक सुचारु गर्न उपसभापति बिमलेन्द्र निधिसँग छलफल गरेका थिए। पार्टीभित्रको विवादले उग्र रुप लिन थालेपछि सिहंले पार्टीभित्रको विवाद समाधानलाई महत्व दिन थालेका हुन्।

ठमेलमा जारी भेटमा सिटौला र सिंहबीच पार्टीको महाधिवेशन, जारी केन्द्रीय समितिको बैठक, तरुण दल लगायतका भातृ संगठनमा देखिएको विवाद र त्यसको समाधानका बारेमा कुराकानी भइरहेको नेविसंघका नेता युपी लामिछानेले जानकारी दिए। लामिछानेका अनुसार २ नेताबीचको छलफलले शीर्ष नेतालाई विवाद समाधानका लागि मध्यमार्गी उपाय सुझाउने छ।

सभापति शेरबहादुर देउवाले पार्टी महाधिवेशनको तयारी गर्नुको सट्टा पार्टीका विभागहरु बिस्तार गर्न थालेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला लगायतको समूहले जारी केन्द्रीय समितिको बैठक बहिस्कार गर्दै आएको छ। बहुमतका आधारमा निर्णय गरेर जाने मनस्थिति बनाएका देउवाले सहमतिका लागि बुधबारसम्म केन्द्रीय समितिको बैठक स्थगित गरेका छन्।

पुस २ गतेसम्म विवाद समाधान गरी बैठक सुचारु गर्ने प्रयास गरे पनि दुवै पक्ष लचक नहुँदा अहिलेसम्म कुनै ठोस सहमति हुन सकेको छैन। पौडेल र सिटौला पक्षले विभागहरुको बिस्तार रोकी महाधिवेशनको मिति तोक्न सभापति देउवासँग माग गरिरहेका छन्। केन्द्रीय समितिको बैठक बुधबार बस्ने कार्यसूचि छ।