जंगबहादुर राणा वा जङ्ग बहादुर कुँवर राणा नेपालका प्रधानमन्त्री तथा प्रथम श्री ३ महाराज थिए। कोतपर्वको नरसंहारपश्चात् शक्तिशाली भएका जङ्गबहादुर राणा भण्डारखाल पर्वपश्चात् राजसंस्थाभन्दा शक्तिशाली भए। यिनको पालामा अङ्ग्रेजसँगको लडाइँमा गुमेकोमध्ये यिनले अङ्ग्रेजलाई खुसी पारी राप्तीदेखि महाकालीसम्मको तराई अर्थात् हालको बाँके, बर्दिया, कैलाली तथा कञ्चनपुर पुन नेपालमा फर्काइएको थियो, जुन भू–भागलाई नयाँ मुलुकको नामले समेत चिनिन्छ।
(१) बाल्यकाल – बालनरसिंह कुँवरका छोराका रूपमा जंगबहादुरको जन्म वि.सं. १८७४ असार ७ गते अर्घाखाँचीको बलकोटमा भएको थियो। काजीका छोरा भएकाले उनको बाल्यकाल सुखसयलमा नै बित्यो। उनको परिवार प्रधानमन्त्री भीमसेन थापाको सम्बन्ध पथ्र्यो। नेपाल दरबारमा भीमसेन थापाको पतन भएसँगै बालनरसिंहको जागिर खोसियो र परिवारको बिचल्ली भयो।
सुरूका दिनमा लफङ्गा, जुवाडे जंगबहादुर आफूभित्रको अदम्य साहस, वीरता र चातुर्यका कारण नेपालको इतिहासमा एक सफल खलनायकका रूपमा छन्। नेपालमा राणा शासनको स्थापना गरी १०४ वर्षे पारिवारिक शासनशैलीको सुत्रपात उनीबाटै भयो। बेलायतीहरूका कट्टर भक्त जंगबहादुरले आफ्ना कट्टर विरोधीहरूलाई एकएक गरी मारेर एकतन्त्री शासन चलाए। उनी बेलायत र फ्रान्सबाट फर्केपछि नेपाली कला, संस्कृति, जनजीवन र कानूनमा समेत पश्चिमी प्रभाव परेको थियो।
(२) युवराजका अंगरक्षक – सुरुमा जंगबहादुर युवराज सुरेन्द्रका अंगरक्षक थिए। युवराज सुरेन्द्र सन्की स्वभावका थिए। त्यही भएर उनको अङ्गरक्षक रहँदा जंगबहादुरले साहसिक र खतरनाक आदेशहरु पालना गर्नुपर्थ्यो। उनले त्रिशुली नदीमा घोडासहित कुद्ने, धरहराबाट हाम फाल्ने, बाह्र वर्षे इनारमा हामफाल्ने जस्ता आदेश मान्नुपरेको थियो।
जंगबहादुरले आफ्नै मामाको हत्या गरेका थिए। आफ्ना मामा माथवरसिंह थापालाई गोली हानी मार्ने जंगबहादुर कुँवरले नेपाल दरबारबाट निम्न प्रकारका शिक्षा पाए :– (१) नेपालको राजदरबारमा पालिएकाहरूको विश्वास नगर्नु, (२) दरबारमा बोलाएका बेलामा विचारै नगरी नजानु, (३) राति एक्लै, असुरक्षित अवस्थामा दरबार प्रवेश नगर्नु, (४) राजनीतिमा नातागोता र समूहभन्दा मान, पद, षड्यन्त्र र हत्या ठूला हुन्। गुप्तचर कडा र सशक्त बनाउनु, (५) आफ्नो उन्नति हुन्छ भने अनैतिक र कायरभन्दा कायर काम गर्न पनि पछि नपर्नु, आदि। आफ्नो दाइ माथवर सिंहको हत्या गरेपछि जंगबहादुरकी आमाले उनीसँग नबोल्ने प्रतीज्ञा गरेकी थिइन्।
(३) गगन सिंहको हत्या – गगन सिंह दरबारका एक प्रभावशाली पात्र थिए। रानी राज्यलक्ष्मीले उनलाई धेरै माया अनि विश्वास गर्थिन्। दरबारमा रानी र गगन सिंहको प्रेम थियो भन्ने हल्ला पनि थियो। रानी र गगन सिंह बीचको हेलमेल राजा राजेन्द्र अनि युवराज सुरेन्द्रलाई मन परेको थिएन। तथापि, राजा राजेन्द्र राजकाजमा खास मतलब नराख्ने खालका पनि थिए। सुरेन्द्र र जंगबहादुरबीच निकै राम्रो अनि गहिरो सम्बन्ध थियो। गगन सिंह यसर्थले पनि जंगबहादुरसँग राम्रो सम्बन्ध नराखेको आंकलन गर्न सकिन्छ।
औपन्यासिक आधारमा भने यसबारे उपन्यासकार डाइमन सम्शेरले गगन सिंहको हत्या राजा राजेन्द्र सुरेन्द्रको सल्लाहबमोजिम जंगबहादुरले गरेको उल्लेख गरेका छन्। यसबाट रानी लगभग पागलजस्तै भएकी थिइन्। निजको हत्यारा पत्ता लगाउन गरेको सभामै कोत पर्व हुन गयो र अन्ततः गगन सिंह जंगबहादुर उदयको समेत कारक तत्व बन्न पुगे। यी कुराहरुको अध्ययन गर्दा जंगबहादुर र गगन सिंहबीच प्रतिस्पर्धीको सम्बन्ध रहेको आंकलन गर्न सकिन्छ।
(४) कोत पर्व – वि.सं. १९०३ भदौ ३१ गते राति महारानी राज्यलक्ष्मी देवीको प्रिय पात्र तथा मन्त्रीपरिषद्का सदस्य गगन सिंह भण्डारीको रहस्यमय ढंगले गरिएको हत्यारा पत्ता लगाउन महारानीको आदेशले वि.सं. १९०३ असोज २ गते शनिबार राति सबै भारदारहरूलाई कोतको परिसरमा जम्मा हुने आदेशअनुसार कोतमा भेला भए। गगनसिंहको हत्यारा पत्ता लगाउने सिलसिलामा एक अर्कामा भनाभन हुँदा जङ्गबहादुर राणाका मानिस युद्धवीर (राममेहर) अधिकारीद्वारा सर्वप्रथम अभिमानसिंह राना मगर मारिए।
स्थिति चर्किदै हात हालाहाल तथा गोली हानाहान हुँदा अभिमानका साथसाथै त्यतिखेर नेपालका प्रधानमन्त्री फत्तेजङ्ग शाह, दलभञ्जन पाण्डे लगायतका ४० जनाको हत्या भयो। कोतको परिसरमा रगतको खोला बग्यो। कोतभित्र तनावको वातावरण पैदा भएकै अवस्थामा राजा कोतबाट बाहिर निस्केका थिए। यस्तो विभत्स र दुखलाग्दो स्थितिको फाइदा उठाएर जङ्गबहादुर राणा प्रधानमन्त्री बने। यस पर्वसँगै जङ्गबहादुरले सत्ता आफ्नो हातमा लिए।
(५) भण्डारखाल पर्व – कोत पर्वपछि प्रधानमन्त्री र कम्यान्डर इन्चिफ बनाइएका जंगबहादुरलाई रानी लक्ष्मीदेवीले सुरेन्द्रको हत्या गर्न र आफ्नो छोरा रणेन्द्रलाई गद्दीको हकदार बनाउन दवाव दिइन्। तर जंगबहादुरले अब उप्रान्त रानीले यस कार्यमा थप दवाव दिएमा राम्रो नहुने चेतावनी दिए। उनको यस्तो कुराले रानी रिसले चुर भइन्। उनले भण्डारखालको बगैंचामा भोजको आयोजना गर्ने र सो भोजमा जंगबहादुर र उनका सबै भाइहरुको हत्या गर्ने योजना बनाइन्। तर, सो कुराको पोल पण्डित विजयराजले जंगबहादुरलाई खोले र सो षड्यन्त्रमा सामेल वीरध्वज बस्नेत लगायतलाई हत्या तथा कैद गरियो। रानीको सम्पूर्ण अधिकार खोसी देश निकाला गरियो।
(६) राणाको उपाधि – वि.सं. १९०५ वैशाख १३ (५ मे १८४८) श्री ५ महाराजधिराज सुरेन्द्रबाट प्राइम मिनिस्टर एण्ड कमाण्डर इन्चिफ जङ्गबहादुर कुँवरलाई र उनका सबै भाइ वंशजहरूलाई भारतको चितौरगढबाट राजपूत राणाका सन्तानहरू पहाड पसी कास्की पुगेका र निदानमा गोरखाबाट मुलूकको सेवा गरेको कुरा मान्यता गरी ‘राणाजी’ भन्न पाउने गराए। त्यसपछि उनी जङ्गबहादुर राणाजी भएका थिए।
(७) युरोप भ्रमण – ठूलो दलबलका साथ वि.सं १९०६ साल माघमा नेपालबाट हिंडेको राजप्रतिनिधिमण्डलले पटनाको पहिलो स्वागतमै १९ तोपको सलामी पायो। कलकत्ताबाट पनि त्यस्तै सम्मान, सत्कार, सलामी लिँदै वि.सं. १९०७ साल जेठमा जंगबहादुर बेलायत पुगे। भ्रमणमा भेटघाट गर्ने काम त छँदै थियो, विशेषचाहिँ त्यहाँको शासन व्यवस्था, सैनिक संरचना, शस्त्रागार आदि हेर्नेमा उनको रुचि थियो। विश्व हल्लाउने फ्रान्समा पनि उसको शक्ति हेर्नेमा उनको रुचि थियो।
त्यसरी दुई ठूला राष्ट्र भ्रमण, निरीक्षण गरेपछि जंगबहादुरले मनमा निश्चय गरे कि अब ब्रिटिशसँग लड्ने होइन, मेलमिलापबाट काम लिनुपर्छ। अंग्रेजसँग जुध्ने होइन, निहुरिने पनि होइन, मेलमिलापकै नीति लिनुपर्ने रहेछ, मावली भीमसेन थापाले लडेर गल्ती गरे, मैले पनि त्यस्तै गर्दा झन् गल्ती हुन्छ भन्ने सोच उनले बनाएको पाइन्छ।
(८) मुलुकी ऐन १९१० जारी – मुलूकी ऐन नेपालको सबैभन्दा पहिलो लिखित कानून हो। मुलूकी ऐन नेपालको संहितावद्द राष्ट्रिय कानून हो। पहिलोपटक वि.सं. १९१० मा मुलुकी ऐन जारी गरिएको थियो। जंगबहादुर राणाले बेलायत यात्राबाट फर्केलगत्तै यो ऐन बनाएका थिए।
(९) नेपाल तिब्बत युद्ध – चतुर जंगबहादुरले भोट जित्न सके सुगौली सन्धिले पारेको चोटमा मलमपट्टी लगाउन र राजा–प्रजालाई प्रशन्न पार्न सकिने देखेका थिए। किनकि, दोस्रो नेपाल–तिब्बत–चीन युद्धपछि भएको बेत्रावती सन्धि अपमानपूर्ण र नेपालका लागि अहितकारी थियो। जंगबहादुर नेपालीको राष्ट्रिय गौरव फर्काउन चाहन्थे। चिनियाँ र ब्रिटेनमा राख्ने कार्यमा सफल भइसकेपछि जंगबहादुरले १४००० नयाँ सेना भर्ती गरे। त्यसपछि युद्ध सुरु गरे। सो युद्ध थापाथली सन्धिपछि सकियो र तिब्बतले नेपाललाई वर्षेनि रु. १०,००० तिर्न बाध्य बनाए।
(१०) श्री ३ महाराज लालमोहर – श्री ५ सुरेन्द्रबाट वि.सं. १९१३ श्रावण २२ गतेका दिन (कतै वि.सं. १९१३ साउन २४ गते उल्लेख गरिएको छ) सार्वजनिक रूपमा उनलाई कास्की र लमजुङ्को महाराज घोषित गरियो र त्यहाँको उपाधि र सम्पत्तिको भोगचलन उनकै परिवारमा हस्तान्तरण हुँदै जाने पनि घोषणा गरियो। त्यसबाहेक उनलाई सार्वभौम चरित्रका अन्य अधिकार र सहुलियत पनि प्रदान गरियो, जसअनुसार यी दुई जिल्लाबाहेक उनले पश्चिममा काली र पूर्वमा मेचीसम्म राज्य सञ्चालनको सम्पूर्ण अधिकार प्रयोग गर्न सक्नेछन्। ती अधिकार निम्न बमोजिम थिए :–
- जीवन र मृत्युको अधिकार।
- सरकारका सबै अङ्गका कर्मचारी नियुक्त गर्ने र सेवाबाट बर्खास्त गर्ने अधिकार।
- अङ्ग्रेज, तिब्बती र चिनियाँ सरकार लगायत कुनै पनि विदेशी शक्ति राष्ट्रसँग सन्धिपत्रमा हस्ताक्षर गर्ने, युद्धको घोषणा गर्ने र शान्ति सम्झौता गर्ने अधिकार।
- दोषीमाथि दण्ड सजाय तोक्ने अधिकार।
- नयाँ कानून बनाउने र पुरानो कानून खारेज गर्ने (देवानी, फौजदारी र सैनिक) अधिकार।
उपरोक्त अधिकार क्रमैले जङ्गबहादुरका शेषपछि उनका भाइहरू र त्यसपछि उनका छोराहरूमा हस्तान्तरण हुँदै जाने पनि घोषणा पत्रमा लेखियो। र, राजाबाट पनि राज्य सञ्चालनका क्रममा आन्तरिक वा बाह्य कुनै प्रकारको जोरजुलुम र गल्ती वा अपराध गरे उनीमाथि पनि निग्रह गर्ने अधिकार पनि जङ्गबहादुरलाई दिइयो। त्यसपछि जङ्गबहादुर रोमका तानाशाह, (रोमन सुल्ला इसापूर्व ८२–७९) जस्तै एक प्रकारको अनन्त तथा चिरस्थायी तानाशाह बनाइए।
(११) जंगबहादुरका सन्तानहरु – उनका १३ छोराहरू र २० छोरीहरू थिए। भीम प्रताप जङ्ग राणा, जगतजङ्ग राणा, जीतजङ्ग राणा, पद्म जङ्ग राणा, बबर जङ्ग राणा, रणवीर जङ्ग राणा लगायत। त्यस्तै जेठी छोरी बदन कुमारीको विवाह कर्णेल गजराज सिंह थापासँग भएको थियो। ३ छोरीहरूको विवाह युवराज त्रैलोक्य विक्रम शाहसँग भएको थियो। केहीको बझाङी राजा विक्रम बहादुर सिंह र युवराज धीरेन्द्र र नरेन्द्रसँग भएको थियो।
(१२) जंगबहादुरको मृत्यु – नेपालकै कूख्यात तानाशाहका रुपमा स्थापित जंगबहादुर राणाको मृत्यु वि.सं. १९३३ मा पत्थरघट्टामा यिनको मृत्यु भयो। उनीसँग उनका तीन रानी सति गए। जंगबहादुरले सुरु गरेको जहाँनिया राणा शासन १०४ वर्षसम्म चल्यो। २००७ सालको आन्दोलनपछि राणाहरुको सत्ता अन्त्य भयो। २०१५ सालमा भएको पहिलो आम चुनावसँगै राणाहरुको शासकीय प्रणालीमा वंशजीय प्रथा अन्त्य भयो।
(१३) शिक्षा र सुधार – राणाकालपूर्वका शाही शासनमा त शिक्षाको प्रादुर्भाव नै भएको थिएन भने सिङ्गो राणाकाल पनि शैक्षिक दृष्टिले निकै नै उपेक्षित अवधि रह्यो। उता राणाको १०४ वर्ष एउटा यस्तो अवधि थियो, जुन कालमा छिमेकी व्रिटिश–भारतले आफ्नो शैक्षिक र औद्योगिक क्षेत्रमा उल्लेख्य प्रगति हासिल गर्यो। दुर्भाग्य यसै अवधिमा हाम्रो देश भने ज्यादै कुण्ठित एवं उपेक्षित शैक्षिक जीवनमा रहन विवश रह्यो। त्यसैले विदेशीहरूले निष्कर्ष निकाले, ‘नेपालमा शिक्षा ठीक त्यत्तिकै अप्राप्त छ, जति आयरल्याण्डमा सर्प।’
राणाकालको १०४ वर्ष नै यस्तो रह्यो। जब कुनै न कुनै रूपमा नेपालले उच्च शिक्षा मात्र होइन, पाश्चात्य शिक्षाको पनि जग हाल्न सक्यो। सुखद प्रसङ्ग त के भने निरङ्कुश एवं आततायी राणा शासनका संस्थापक एवं प्रथम राणा प्रधानमन्त्री र कास्की तथा लमजुङका श्री ३ महाराज जंगबहादुर कुँवर राणा नै यस्ता थिए, जसले नेपालमा पाश्चात्य शिक्षाको जग बसाले। ईशाको १८५० मा एसियाकै पहिलो प्रधानमन्त्रीका रूपमा ब्रिटेनको भ्रमणमा पुगेका जंगबहादुरले ब्रिटिश साम्राज्यले गर्न सकेको विश्व विजय र प्रगतिको पछाडि उसको शैक्षिक जागरण नै कारक रहेको हृदयङ्गम गरी आफ्ना छोराहरूमा पनि त्यस्तो शिक्षा दिन सकियोस् भन्ने हेतुले नै नेपालमा पाश्चात्य शिक्षाको जग बसालेका थिए।
(१४) अंग्रेजी शिक्षाको आरम्भ – प्रारम्भमा जंगबहादुरकै गोल बैठकमा यो पाश्चात्य शिक्षाको श्रीगणेश भएको कारण पछिबाट नेपालको पाश्चात्य ढर्राको माध्यमिक शिक्षण संस्थाको प्रथम नाम नै ‘दरबार हाइस्कूल’ पर्न गयो। त्यसताका राणा प्रधानमन्त्री जंगबहादुरको निवास थापाथलीमा थियो र ‘थापाथली दरबार’ भनिन्थ्यो। सोही दरबारमा रहेको उनको भव्य गोल बैठकमा अङ्ग्रेजी शिक्षक मास्टर क्यानिङ्गले उनका छोराहरूलाई पाश्चात्य शिक्षा दिन थालेपछि विधिवत नेपालमा अङ्ग्रेजी शिक्षाको जग बस्यो।
यो वि.सं. १९९१ सालको कुरा थियो। शुरुका जंगबहादुरका छोराहरूले मात्र पढ्ने यस गोल बैठक शिक्षामा क्रमशः उनका भाइ, भतिजाहरू पनि संलग्न हुन थाले। त्यसैगरी क्रमशः दरबारिया भाइ भारदारका छोराहरूले पनि यसमा पढ्ने छुट पाउँदै गए। अन्ततः द्वितीय राणा प्रधानमन्त्री रणोद्विपसिंहका पालामा वि.सं. १९४८ मा उक्त गोल बैठकमा हुने पाश्चात्य पढाइ कार्यका लागि रानीपोखरीको पश्चिमतर्फ एक पृथक भवन बनाई उक्त पठनपाठन कार्य त्यही स्थानान्तरण गरेपछि नै नेपालमा औपचारिक ढङ्गले माध्यमिक स्तरको पाश्चात्य शिक्षाको प्रादुर्भाव हुन सकेको हो। जो हालसम्म भानु माध्यमिक विद्यालयतर्फ दरबार हाइस्कूलका रूपमा जीर्ण अवस्थामा छ।



लाेकपाटी न्यूज

