अहिले मुलुकभर चिसो बढेसँगै कतै चिसोले कठयाङग्रिएर कतै कसैले ज्यान गुमाएका छन् । यस वर्ष खासै त्यस्ता घटना नघटे पनि अघिल्ला वर्षहरुमा बन्द कोठामा तातोले अक्सिजनको कमी भई निस्सासिएर ज्यान गुमाउनेको कमि छैन।
चिसोबाट बच्न प्रयोग गरिने ग्यास गिजर र हिटरका कारण हुने दुर्घटनाहरु पनि बढेका छन्। पुसका लाग्दै गर्दाका यी दिनहरु चिसोले अहिले कष्टकर बनेका छन्। चिकित्सकहरुका अनुसार बन्द कोठामा आगो र हिटर बालेर बस्दा कार्बोनमनोअक्साइड ग्यास उत्पन्न भई अक्सिजनको कमिले ज्यानै जान सक्ने खतरा रहन्छ।
चिसोबाट बच्ने नाममा बन्द कोठामा हिटर बालेर सुत्दा अक्सिजनको कमि भई सुतेको सुत्यै ज्यान गुमाउनुपर्ने अवस्था आउनेतर्फ सचेत रहनुपर्दछ। चिसो मौसममा हिटर बालेर मस्त निदाउँदा दुर्घटना बढी हुने गरेका छन्। तर, हिटरका खराबीबारे जानकारी भएर पनि नेपालीहरुले पर्याप्त सुरक्षा सतर्कता अपनाउने गरेका छैनन्।
जाडो याममा आफ्नै लापरवाहीले गर्दा देखिने स्वास्थ्य समस्याहरु धेरै छन्। चिसोको कारण झ्याल ढोका सबै बन्द गरेर आगो ताप्नु धेरैका लागि सामान्य कुरा बनेको छ। तर, यसरी न्यानो हुने चाहमा कतैबाट हावा नछिर्ने गरी बन्द गरेर आगो वा हिटर ताप्दा कोठामा कार्बनडाई अक्साइड वा कार्बन मोनोअक्साइड भन्ने ग्याँसको मात्रा बढ्न जाने र उक्त ग्याँस धेरै समयसम्म शरीरमा प्रवेश गर्दा विभिन्न प्रकारको समस्या देखिन सक्ने वा मृत्यु नै पनि हुन सक्ने विशेषज्ञहरु बताउँछन्।
जाडो याममा ग्याँस गिजरका कारण हुने मृत्युका घटनाहरु पनि यसैले गर्दा हुने हो। त्यसैले आगो वा हिटरको प्रयोग गर्दा राम्रोसँग हावा वारपार हुने ठाउँमा बसेर मात्र प्रयोग गर्न चिकित्सकहरुले सुझाएका छन्।
जाडो याममा बिहानको चिसोमा सकेसम्म हिडडुल गर्नु हुँदैन। हिँडडुल गर्नैपर्ने भए न्यानो लुगा, टोपी लगाएर मात्र बाहिर निस्किनु पर्छ। हावा आवतजावत गर्ने कोठामा मात्र बसेर हिटर वा आगो ताप्ने गर्नुपर्छ । भाइरल फ्लु लागेका मानिसहरूबाट दुरी कायम गर्नुपर्छ भने मौसमी फलफूल विशेष गरेर ‘भिटामीन–सी’युक्त फलफूलको अलि बढी सेवन गर्नुपर्छ।
श्वास प्रश्वासका समस्या भएकाहरूले यो मौसममा विशेष सतर्कता अपनाउनुपर्ने चिकित्सकहरुको भनाइ छ। तर, बालबालिकालाई धेरै बाक्लो लुगा लगाइदिएर गुम्साउनु पनि हुँदैन। त्यसो गर्दा भित्रभित्रै तातो भएर पसिना आउने भएकाले त्यसैको चिसोले अन्य स्वास्थ्य समस्या नित्याउने चिकित्सकहरु बताउँछन्।
मौसम परिवर्तन प्रकृतिको चक्र हो। यसलाई कसैले पनि रोक्न सकिँदैन। तर, मौसम परिवर्तनबाट देखापर्ने स्वास्थ्य समस्याहरुबाट भने हाम्रो थोरै सावधानीले पनि बच्न सकिन्छ। मौसम प्राकृतिक कुरा भएकाले चिसोबाट बच्न पनि प्राकृतिक विधि खोज्नु नै मानव स्वास्थ्य र सावधानीका दृष्टिले राम्रो हो।
हिटर वा ग्यास गिजर बालेर सुत्दा निस्सासिने खतरा मात्र होइन। छाला र श्वासप्रश्वाससँग सम्बन्धित रोगहरुको जोखिम पनि उत्तिकै बढेर जान्छ। लगातार हिटर बालेर सुत्दा आँखा सम्बन्धि रोगको खतरा पनि रहन्छ। छाला र रक्त सञ्चारमा पनि यसले असर गर्दछ।
तसर्थ, जाडो मौसममा अत्यधिक हिटर वा ग्यास गिजरको प्रयोग राम्रो मानिँदैन। बरु त्यसको सट्टा पसिना नजम्ने खालको न्यानो लुगामा जोड दिनुपर्छ र तातो खानेकुरा खान बल गर्नुपर्दछ।



लाेकपाटी न्यूज

