काठमाडौं। सवारीसाधनमा उच्च प्रविधिको नम्बर प्लेट (इम्बोस्ड) जडानविरुद्ध सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ। शुक्रवार संवैधानिक इजलासले इम्बोस्ट नम्बर प्लेटविरुद्धको रिट खारेज गरेको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए।
सर्वोच्चमा रिट गरेपछि २०७४ फागुन १० गतेदेखि इम्बोस्ड नम्बर प्लेट जडान कार्य अवरुद्ध भएको थियो। अधिवक्ता भरतकुमार बस्नेत र राजन वुर्लाकोटीले दायर गरेको रिट शुक्रवार संवैधानिक इजलासले खारेज गरेको छ। इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमानसिंह राउत सम्मिलित थिए।
इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी प्रयोग भएको भन्दै विरोध समेत भएको थियो। सर्वोच्चले रिट खारेज गरेपछि अब अंग्रेजी नै प्रयोग भएर नम्बर प्लेट जडान कार्य अगाडि बढ्ने जनाइएको छ। यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट जडानका लागि अन्तर्राष्ट्रिय टेन्डर गरेर प्रक्रिया अगाडि बढाएको थियो।



लाेकपाटी न्यूज

