काठमाडौं, २६ मंसिर। आज देशभरको मौसममा बदली भएको छ। इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली बुधवार साँझ नेपालको पश्चिमी भू-भागमा प्रवेश गरेसँगै देशभरको मौसममा बदली भएको हो। उक्त प्रणालीको प्रभावले नेपालको पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा हिमपात शुरु भएको मौसमविद्ले जनाएका छन्।
यो प्रणाली आज अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हिमपातको सम्भावना रहेको मौसमविद् मञ्जु वासीले जानकारी दिइन्। सोही प्रणालीको प्रभावले देशैभरि बदली भई अधिकतम र न्यूनतम तापक्रममा गिरावट आई चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै यस प्रणालीका कारण देशका पश्चिमी भूभागका धेरै स्थानमा र मध्य र पूर्वी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसमविद्का अनुसार यो क्रम आगामी शुक्रबारसम्मै जारी रहनेछ। महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा भारी र मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानमा हल्कादेखि मध्यम हिमपात हुने बताएको छ ।



लाेकपाटी न्यूज
