कोलकाता उडान बन्द गर्ने बुद्ध एयरको तयारी

Buddha Air
फाइल तस्बिर
लाेकपाटी न्यूज

काठमाडौं, १० मंसिर । अब बुद्ध एयरले कोलकाता उडान बन्द गर्ने भएको छ। भारतका दुई शहरलाई अन्तर्राष्ट्रिय उडान गन्तव्य बनाएर उडान गर्दै आएको बुद्ध एयरले कोलकाता उडान बन्द गर्ने तयारी गरेको छ।

कोलकाता उडान सुरु गरेको ६ महिनामै रु.१० करोड भन्दा बढी नोक्सान भएपछि उडान बन्द गर्ने तयारी गरिएको बुद्ध एयरले जनाएको छ। सो एयरका बजार व्यवस्थापक रुपेश जोशीले यही मंसिर १६ गते कोलकाता उडानको अन्तिम दिन हुने जानकारी दिए ।

नेपालबाट कोलकाता उडान राम्रो भए पनि कोलकाताबाट नेपाल आउने यात्रुको सङ्ख्यामा वृद्धि हुन् नसक्दा भ्रमण वर्षको सङ्घारमा उडान बन्द गर्नु परेको बुद्ध एयरले जनाएको छ। कोलकाता उडान बन्द भए पनि बनारस उडान भने बन्द नहुने व्यवस्थापक जोशीले जानकारी दिए ।

कोलकाता उडान बन्दका लागि बुद्धले नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान)  र भारतको सिभिल एभिएसनलाई सूचना गरिसकेको जनाएको छ। बुद्ध एयरले गत जेठ १३ गतेदेखि एटिआर ७२–५०० विमानबाट काठमाडौं–कोलकाता उडान सुरु गरेको थियो। सातामा तीन दिन सोमबार, बुधबार र शुक्रबार गरी छ महिनामा एक सय ५० उडानमार्फत् छ हजार यात्रुलाई सेवा प्रवाह गरेको जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्