काठमाडौं। वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाई नेपाली कामदारहरुलाई वैदेशिक रोजगारीमा पठाउने सन्दर्भमा श्रम स्वीकृतिका लागि पेश गरिने कागजात प्रमाणहरु सत्य र तथ्यमा आधारित नभएको अवस्थामा वैदेशिक रोजगारीमा जाने कामदारहरु करार बमोजिम काम, सुविधा नपाई मर्का पर्ने, विदेशी भूमिमा पीडित बन्नुपर्ने, स्वदेश फर्कन कठिनाई हुने, कतिपय अवस्थामा जेल सजाय समेत भोग्नुपर्ने र ज्यान समेत गुमाउनुपर्ने हुन सक्छ।
वैदेशिक रोजगारी जोखिमपूर्व रोजगारी हो। नेपालमा वैदेशिक रोजगारीमा पठाउने नाममा करोडौंको ठगी हुने गरेको छ। सरकारले आवश्यक कानून बनाए पनि विश्वासका आधारमा गैरकानूनी कारोबार गर्दा नेपालीहरु ठगीको चपेटामा पर्ने गरेका छन्। यसर्थ वैदेशिक रोजगारमा जाने व्यक्तिहरुले निम्न विषयहरुमा विशेष ध्यान पु¥याई यकिन गरी श्रम स्वीकृति लिएर वैधानिक रुपमा मात्र बैदेशिक रोजगारमा जानुपर्दछ।
(१) वैदेशिक रोजगारमा जानका लागि कानूनी प्रक्रिया पुर्याई व्यक्तिगत र संस्थागत गरी २ किसिमले बैदेशिक रोजगार विभाग अन्तर्गत ताहाचलस्थित कार्यालयहरुबाट श्रम स्वीकृति प्राप्त गर्न सकिन्छ। संस्थागत रुपमा बैदेशिक रोजगारमा कामदार पठाउने कार्य वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतपत्र लिई नियमित रुपमा नवीकरण भएका इजाजतपत्रवाला संस्थाहरु (म्यानपावर कम्पनी) ले गर्दछन्।
तपाईले सम्पर्क गरेको संस्था बैदेशिक रोजगार विभागबाट इजाजत लिएको मेनपावर कम्पनी हो कि होइन ? उक्त मेनपावरको काम कारवाही रोक्का भएको छ कि छैन ? तथा खारेजीमा परेको छ कि छैन ? बुझ्नुहोस्। व्यक्तिगत प्रयासबाट भिसा प्राप्त गरी वैदेशिक रोजगारमा जाने व्यक्तिले नेपाली दूतावासबाट प्रमाणित सक्कल कागजातसहित स्वयं उपस्थित भई श्रम स्वीकृति लिन सकिन्छ।
(२) वैदेशिक रोजगारमा जाँदा कुन काममा जाने, सोका लागि कति खर्च लाग्छ, काम गरेवापत तलव, खाना र बस्ने व्यवस्था, काम गर्नुपर्ने घण्टा, ओभरटाइम काम भत्ता, करार अवधि आदि बारेमा राम्ररी जानकारी लिनुहोस्। देश, कम्पनी, काम गर्ने पद र पेशा, तलवभत्ता, अन्य सुविधा र सेवा शर्तहरुबारे चित्त बुझेमा मात्र राजीखुसी साथ सम्झौतापत्रमा सही गर्नुहोस्। त्यसपछि सोको एक प्रति आफूसँग राख्नुहोस्। विमानस्थलमा फरक फरक सम्झौता गरेका कागज साथमा राखेको पाइएकाले एउटै कम्पनीसँग मात्र सम्झौता गर्नुहोस्, दोहोरो सम्झौतापत्र नगर्नुहोस्। त्यसो गर्दा ठगिनु हुन्छ।
(३) वैदेशिक रोजगारमा जाँदा कुन संस्थाबाट वा कोमार्फत् जाने हो, त्यसको बारेमा यथेष्ठ जानकारी राख्नुहोस्। दलालमार्फत् वा त्यस्तै व्यक्तिबाट जाने प्रयत्न नगर्नुहोस्, ठगिने र विदेशमा अलपत्र पर्ने प्रवल सम्भावना रहन्छ। कन्सल्टेन्सी फर्म, ट्राभल एजेन्सी, मनी ट्रान्सफर चेन्जर, दलाल, एजेन्ट, कुनै पनि संस्थालाई बैदेशिक रोजगारमा पठाउने अधिकार प्राप्त छैन। यी कसैलाई पनि रकम नदिनुहोस्, ठगिने बढी सम्भावना हुन्छ।
(४) आफ्नो नाममा भिसा प्राप्त भई वैदेशिक रोजगारमा जाने निश्चित भएपछि मेनपावर कम्पनीको बैंक खातामा वा प्रधान कार्यालयमा मात्र रकम बुझाउनुस्। साथै बुझाएको रकमको भर्पाई अनिवार्य रुपमा लिनुहोस्। पूर्वस्वीकृति अनुसारको विज्ञापनमा उल्लेख भएको भन्दा बढी रकम कसैलाई नदिनुहोस्।
(५) इजाजत प्राप्त मेनपावर कम्पनीले विदेश पठाउन पासपोर्ट माग गरेमा कुन देशमा कुन कामका लागि कति अवधिभित्र पठाउने र कति लागतमा पठाउने हो ? एकीन गरी भर्पाई लिएर मात्र सक्कल पासपोर्ट बुझाउनुहोस्। अन्यथा तपाईलाई झुलाएर बार्गेनिङ गर्न सक्छन्।
(६) जान चाहेको देशका बारेमा राम्रो जानकारी राख्नुहोस्। त्यो देशको भाषा संस्कृति, रहन सहन, चालचलन, रिति रिवाज र कानूनको बारेमा आवश्यक जानकारी राख्नुहोस्। यसले तपाईलाई काम गर्न मात्र सहज हुँदैन, कुनै पनि समस्या पर्दा समाधानका लागि पनि मद्दत मिल्छ।
(७) आफू काम गर्न जाने मुलुकमा रहेको नेपाली दूतावासको सम्पर्क ठेगाना, अन्य कामदारलाई सघाउने र सहयोग गर्ने संघसंस्थाहरुको फोन र फ्याक्स नम्वर डायरीमा टिप्नुहोस्। अथवा जानेका मानिससँग लेख्न लगाउनुहोस्। तपाई जाने देशमा आफन्त छन् भने उनीहरुको ठेगाना र सम्पर्क नम्वर पनि राख्नुहोस्।
(८) सूचिकृत स्वास्थ्य संस्थाबाट मात्र स्वास्थ्य परीक्षण गराई तोकिएको होलोग्राम भएको स्वास्थ्य परीक्षण प्रमाण पत्र लिनुहोस्। सरकारले तोकेको बीमा कम्पनीमा गई करार अवधि अनुसार कम्तीमा रु. ५ लाखको जीवन बीमा गराउनुहोस्। कल्याणकारी कोषमा रु १,५००।– बुझाई रसिद लिनुहोस्। सो रकम नतिरी श्रम स्वीकृति पाइँदैन।
(९) विदेश जानअघि स्वीकृत अभिमुखिकरण संस्थामा गई अनिवार्य रुपमा २ दिनको अभिमूखीकरण तालिम तथा जाने मुलुकको श्रम कानून सम्बन्धी जानकारी लिनुहोस्। सो अभिमूखीकरण तालिमबाट आफू जाने देशको भौगोलिक अवस्था, हावापानी, ट्राफिक नियम, श्रम सम्वन्धी सामान्य कानूनी प्रावधान लगायतका विषयमा पर्याप्त जानकारी प्राप्त हुनेछ।
(१०) वैदेशिक रोजगारीमा जान लागेका नेपाली नागरिकहरुले विदेश प्रस्थान गर्नुअगाडि आफूले प्राप्त गरेका रोजगार सम्बद्ध कागजातहरुको प्रतिलिपिहरु एक एक थान आफ्नो घरमा सुरक्षित साथ राख्ने र आफ्नो साथमा लिएर जानुपर्ने कागजातहरु रुजु गरी लिई जाने ताकि अध्यागमनको प्रस्थान कक्षमा वा विदेशमा पुगेर समस्या झेल्नु नपरोस्।
(११) कामका लागि विदेश जाँदा नेपालकै एयरपोर्ट प्रयोग गर्नुहोस्। अन्यथा ठगिने सम्भावना हुन्छ। श्रम स्वीकृतिको निस्सा प्राप्त नहुँदै हवाई टिकट खरीद नगर्नुहोस्। अन्य देशको विभिन्न बाटो प्रयोग गरी रोजगारीका लागि विदेश नजानुहोस्। यदि कसैले तपाईलाई ललाइफकाई लैजाँदै छ भने स्थानीय प्रहरीलाई खवर गर्नुहोस्।
(१२) लुकीछिपी जाँदा कानूनी कार्वाही हुने, अलपत्र पर्ने, दुर्घटना हुने, सम्झौता बमोजिम काम नपाउने, उद्धार गर्न कठिन हुने र कल्याणकारी कोष, बीमा कम्पनीबाट प्राप्त हुने सेवा सुविधा प्राप्त नहुने हुँदा विशेष होस पुर्याउनुहोस्।
(१३) वैदेशिक रोजगारमा हुने ठगी र अन्य सूचना लिन र दिन टोल फ्रि नम्वर १६६००१०९९९९ को व्यवस्था गरिएकाले कुनै गुनासो वा जानकारी भए फोन गर्नुहोस्। साथै वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको टोल फ्रि नम्वर १६६००१५०००५ मा पनि आफ्नो समस्या राख्न सकिन्छ।
(१४) पहिलेको श्रम स्वीकृति म्याद नाघेको वा नयाँ देश वा कम्पनीमा वैदेशिक रोजगारमा पुनः जाँदा अनिवार्य रुपले पुनः श्रम स्वीकृति (नवीकरण) लिनुहोस्। करार अवधि सकिएपछि पनि स्वीकृति वेगर, गैरकानूनी तरीकाबाट भिसाको म्यादभन्दा बढी समय नबस्नुहोस्, अन्यथा सम्बन्धित देशको कानून अनुसार कार्वाही हुन सक्छ। आफ्नो राहदानीको म्याद समयमा नै नवीकरण गर्नुहोस्।
(१५) कुनै पनि व्यक्तिले वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी रकम मागेमा तुरुन्त नजिकको स्थानीय प्रशासन, प्रहरी, वैदेशिक रोजगार विभागमा सूचना दिनुहोस्। त्यस्ता मान्छेको बिवरण राख्नुहोस्। कोही कसैलाई ठगी गरेको जानकारी पाएमा नजिकको प्रहरी वा आफन्तलाई खबर गर्नुहोस्।
(१६) वैदेशिक रोजगारीका लागि विभिन्न पत्रपत्रिकामा प्रकाशित हुने सूचनाको आधिकारिकता बुझ्न परेमा बैदेशिक रोजगार विभाग वा वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा सम्पर्क गर्नुहोस् वा पत्रपत्रिकामा प्रकाशित विज्ञापनमा उल्लेखित लोट नम्वर टाइप गरी ३४००१ मा एसएमएस गरी आधिकारिकता बुझ्नुहोस्।
(१७) वैदेशिक रोजगारमा जाँदा एड्स् तथा यौनजन्य सरुवा रोगको बारेमा सचेत हुनुहोस्। वैदेशिक रोजगारमा विदेशमा रहँदा अनावश्यक रुपमा हड्ताल र अशान्ति नगर्नुहोस्। मेनपावर कम्पनीको नाम ठेगाना परिवर्तन भएको कारणले सम्पर्क गर्न नसकिएमा विभागमा सम्पर्क गर्नुहोस्।
(१८) विदेशबाट नेपालमा पैसा पठाउन के–के तरिकाहरु छन् ? विदेशबाट नेपालमा आफ्ना आफन्तहरुलाई पैसा पठाउन बैंक खाता वा रेमिटेन्स कम्पनीहरुको माध्यम प्रयोग गर्न सकिन्छ। बैंक खाताभन्दा रेमिटेन्सबाट पैसा पठाउन तुलनात्मक रुपमा सस्तो र सरल हुन्छ।
(१९) रेमिटन्सबाट पैसा पठाउँदा आफूले रोजगारी गरिरहेको देश र पैसा पठाउन चाहेको देशमा उपलब्ध रेमिटेनस कम्पनीहरुमध्ये कुनैको काउन्टरमा गई पैसा पठाउने र प्राप्त गर्ने व्यक्ति, ठेगाना, रकम आदि जानकारीहरु एउटा फारममा भरेपछि रेमिटेन्स कम्पनीले एउटा गोप्य नम्बर पैसा पठाउने व्यक्तिलाई दिन्छ। फाराममा पैसा प्राप्त गर्ने भनेर तोकिएको व्यक्तिले उक्त नम्बर र आफ्नो परिचय पत्र लिई उक्त रेमिटेन्स कम्पनीको काउण्टरमा गएमा सजिलै पैसा प्राप्त गर्न सकिन्छ।
(२०) बैंकबाट बैंक खातामार्फत् मात्र पैसा पठाउन सकिन्छ। यसका लागि पैसा पठाउने र प्राप्त गर्ने दुवै व्यक्तिको बैंक खाता हुनुपर्छ र बैंकको अन्तराष्ट्रिय सञ्चालन हुने पनि जरुरी हुन्छ। पैसा पठाउने व्यक्तिले पैसा प्राप्त गर्ने व्यक्तिको बैंकको नाम, खाता नम्बर र बैंकको एक अन्तर्राष्ट्रिय कोड, जसलाई स्विफ्ट कोड भनिन्छ, यी जानकारीहरु बैंकमा उपलब्ध गराएपछि इच्छाइएको व्यक्तिको खातामा रकम पुग्नेछ। सो माध्यमबाट पैसा पठाउन साधारणतयः रेमिटेन्सभन्दा महँगो पर्छ।
(२१) पैसा पठाउने क्रममा अनौपचारिक र गैरकानूनी माध्यमहरु पनि भेटिन्छन्। यस्ता संयन्त्रमा आफूले पठाएको पैसाको कुनै ग्यारेन्टी नहुने हुनाले पैसा डुब्ने सम्भावना हुन्छ र यस्तो स्थितिमा यस्तो माध्यम प्रयोग नगर्नु नै राम्रो हुन्छ।
(२२) १८ वर्ष पूरा भएको अवस्थामा मात्र वैदेशिक रोजगारीको प्रक्रिया अवलम्बन गर्नुपर्छ। रोजगारीमा जाने क्रममा झुटा विवरण वा कागजात पेश गर्नु हुँदैन। वैदेशिक रोजगारका निमित्त अनुमति प्राप्त गरेका एजेन्सीहरुसँग मात्र वैदेशिक रोजगारीमा जाने सम्बन्धी कारोबार गर्नुपर्छ। संस्थासँग व्यक्तिगत तवरले जानेगरी काम कारवाही गर्न हुँदैन। व्यक्तिगत रुपमा वैदेशिक रोजगारीमा जान चाहनेले वैदेशिक रोजगार विभागको स्वीकृति प्राप्त गर्नुपर्छ।
(२३) वैदेशिक रोजगारको निमित्त जाने क्रममा वैदेशिक रोजगार एजेन्सीलाई रकम बुझाएपछि रसिद लिई सुरक्षित राख्नुपर्छ। वैदेशिक रोजगारीको निमित्त एकमुष्ट वा किस्तामा रकम बुझाएको भएमा कुन किस्तावापत् कति रकम बुझाएको हो, सोको निस्सा लिनुपर्छ। बुझाएको रकम र प्राप्त रसिदमा रकम फरक परे, नपरेको यकिन गरी गरी वास्तविक तिरेको रकम जनाएको रसिद लिनुपर्छ। रसिदमा सम्बन्धित एजेन्सीको छाप भए नभएको र बुझिलिनेको दस्तखत भए नभएको जाँची लिनुपर्छ।
(२४) राहदानी, भिसा, श्रम स्वीकृति, करारपत्र, तालिमहरुको प्रमाणपत्र, रकम बुझाएको रसिदहरु, बिमा, स्वास्थ्य परीक्षण आदिको कागजात आफूसँग सुरक्षित राखी त्यसको फोटोकपी घर परिवारका व्यक्तिहरु वा भरपर्दो अभिभावकलाई छोड्नुपर्छ।
(२५) वैदेशिक रोजगारीमा जाने कामको लागि कुनै सीपमूलक तालिम आवश्यक भए त्यस्तो तालिम लिएको हुनुपर्ने र मान्यता प्राप्त संस्थाबाट अभिमूखीकरण तालिम हासिल गर्नुपर्छ। वैदेशिक रोजगारीमा जाने क्रममा गर्नुपर्ने बिमा तथा कल्याणकारी कोषमा अनिवार्य रुपमा रकम जम्मा गर्नुपर्छ।
(२६) एजेन्सी वा कोही कसैबाट वैदेशिक रोजगारी सम्बन्धी विषयमा गलत वा ठगी गर्न लागेको शंका लागेमा वा त्यसो भए गरेमा वैदेशिक रोजगार विभाग वा नजिकको जिल्ला प्रशासन कार्यालय वा प्रहरीमा तुरुन्त खबर गर्नुपर्छ।
(२७) वैदेशिक रोजगारीमा जाने व्यक्तिले अनुमति लिएको अवस्थामा बाहेक अन्य मुलुकको मार्ग प्रयोग गरी वैदेशिक रोजगारीमा जान हुँदैन। वैदेशिक रोजगारीको निमित्त विदेश प्रस्थान गर्नुपूर्व वैदेशिक रोजगार विभागबाट राहदानीमा श्रम स्वीकृतिको स्टिकर लगाएको हुनुपर्छ।
(२८) वैदेशिक रोजगारमा जाने नेपालीले अनुमतिको अवधि पश्चात् नियमानुसार म्याद थप नगरी अवैधानिक रुपमा विदेशमा बस्न वा काम गर्न हुँदैन। वैदेशिक रोजगारीको क्रममा भएको सम्झौता अनुसारको अवधिभित्र करार भंग नभएसम्म उक्त कार्य छाडी अन्यत्र काम गर्न वा बिना स्वीकृति काम छाडी अन्यत्र जान हुँदैन।
(२९) कुनै कारणले विदेशबाट असमयमा फर्कनु परेमा वैदेशिक रोजगार विभाग र पठाउने एजेन्सीमा फिर्ता आएको १५ दिन भित्रमा जानकारी गराउनुपर्छ। कुनै कारणले ठगीमा परेमा तत्काल विभागमा लिखित उजुरी गर्नुपर्दछ। अधिकतम् १ वर्षभित्र वैदेशिक रोजगार विभागमा उजुरी नपरेमा पीडितले कानूनी उपचार नपाउन सक्छ।
(३०) नियमअनुसार वैदेशिक रोजगारीमा गएपछि उक्त मुलुकमा रहेको नेपाली दुतावास, वा नियोग वा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तोकेको सम्बद्ध संस्थामा सम्पर्क कायम गरी आफू आएको जानकारी गराउनु पर्नेछ। वैदेशिक रोजगारको क्रममा समस्या आएको अवस्थामा उक्त निकायमा जानकारी गराउनु पर्नेछ।
(३१) वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति नलिई वैदेशिक रोजगारमा जानु हुँदैन। वैदेशिक रोजगारमा जानुपूर्व अभिमुखीकरण तालिम लिनुपर्छ र जान लागेको देश, आफूले गर्ने काम र पाउने पारिश्रमिकबारे राम्ररी जानकारी लिई जानुपर्छ। स्वास्थ्य परीक्षण, जीवन बिमा, दुर्घटना बिमा विदेशमा काम गर्न जानु पूर्व अनिवार्य रुपमा गर्नुपर्छ ।



लाेकपाटी न्यूज

