पुटिनको नेपाल भ्रमण: निम्तो लिएर रुस पुगे परराष्ट्रमन्त्री

pradip kumar gayali
लाेकपाटी न्यूज

काठमाडौं, ८ मंंसिर। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली रुसी महासंघ र सर्बियाको औपचारिक भ्रमणका लागि शनिबार अपराह्न त्यसतर्फ प्रस्थान गरेका छन् । परराष्ट्रमन्त्री ज्ञवाली आइतबार रुसको राजधानी मस्को पुगने कार्यक्रम छ।

उनले सोमबार समकक्षी सेर्गेई लाभरोभसँग द्विपक्षीय वार्ता गर्नेछन् । परराष्ट्र मन्त्रालयका अनुसार ज्ञवालीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट पठाइएको औपचारिक भ्रमणको निमन्त्रणापत्र समकक्षीलाई हस्तान्तरण गर्नेछन् । वार्तामा द्विपक्षीय लगानी, पर्यटन, कनेक्टिभिटी, व्यापारका विषयमा छलफल हुनेछ ।

परराष्ट्रमन्त्री ज्ञवालीले मंगलबार मस्कोमा इन्स्टिच्युट अफ इन्टरनेसनल रिलेसन्सद्वारा आयोजित कार्यक्रममा नेपाल रुस सम्बन्ध तथा सहकार्यबारे सम्बोधन गर्ने कार्यक्रम छ  । परराष्ट्रमन्त्री ज्ञवाली बुधबार मस्कोबाट सर्बियाको राजधानी बेलग्रेड भ्रमणमा जानेछन् ।

यो वर्ष नेपाल र सर्बिया (पूर्वयुगोस्लाभिया)बीच कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वर्ष हो। ज्ञवालीले सर्बियाका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री इभिका डाकिकसँग द्विपक्षीय भेटवार्ता गर्ने तथा सर्बियाको उच्च राजनीतिक नेतृत्वसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

लगानी तथा पर्यटन प्रवर्द्धनका लागि बेलग्रेडमा परराष्ट्रमन्त्री ज्ञवालीले स्थानीय चेम्बर अफ कमर्स तथा ट्राभल र टुर अपरेटरसँग बेग्ला-बेग्लै अन्तर्किया गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्