पोखरा, ७ मंसिर । नेकपा उम्मेदवार विद्या भट्टराई अधिकारीले पोखराको समग्र विकासको सारथि बन्ने प्रतिबद्धता गरेकी छन् । पोखरा २० भलाममा शनिबार घरदैलो र कोणसभामा उनले गएको चुनावबाट नेकपा नेतृत्वका ३ तहकै सरकारले थालेका काम चाडै सक्न र नयाँ योजना ल्याएर पोखरालाई अत्याधुनिक र स्मार्ट सहर बनाउने प्रतिवद्धता गरिन् ।
महिला हकअधिकार संरक्षण सँगसँगै युवाको सीप र ऊर्जा देशमै लगाएर समृद्ध नेपाल बनाउन अगुवाइ गर्ने उनले जनाइन्। घरदैलोअघि विद्याले स्थानीय थानापती मन्दिरमा पूजा अर्चनासमेत गरिन्। उनले भनिन्, हामी सबै धर्म र संस्कृतिलाई सँधै सम्मान गर्छाैं। सँगसँगै सांस्कृतिक रुपान्तरण र सभ्य समाज निर्माणको नेतृत्व पनि गर्छाैं ।’
पोखरा महानगरमा पछि थपिएको साबिक भलामका मतदातासँग उनले महानगरका पूर्वाधार र सेवा चाडै उपलब्ध गराउने आश्वासन दिइन्। भलाममा सडक, खानेपानी लगायतका धेरै योजना विभिन्न तहका सरकारको बजेटमा बनिरहेका छन्।
पोखरा २० का चुनावी कामण्डर विश्वप्रकाश लामिछानेले केन्द्रको बजेटबाट भलाम चण्डी पुल बनेको र मणिपाल भलाम बाटुलेचौर सडकको बोलपत्र निस्कने क्रममा रहेको जनाए। उनलेगण्डकी प्रदेशले थानापति शिवालय दूधपोखरी मौजा सडक निर्माण र एग्रेघारी, विचारपानी, कुनाखेत, आँटीघर खानेपानी आयोजनाका लागि बजेट विनियोजन गरेको जनाउँदै चाडै यहाँ बासिन्दा खानेपानी सहज रुपमा पाउने बताए।
उनले पोखरा महानगरले यहाँ बनाउन लागेको हाइ अल्टिच्युड खेल मैदानको डिपिआर बनिसकेको जानकारी दिँदै एक्ले खेत र आगेटारीमा बस्ती संरक्षण मौजा, आँटीघर र डाँडागाउँमा गाउँघर क्लिनिक सञ्चालनमा आएको जनाए। नेकपा गण्डकी प्रदेश सहइन्चार्ज खगराज अधिकारीले भलाम क्षेत्रलाई मध्य पहाडी लोकमार्गले जोडेसँगै विकास निर्माणले काँचुली फेर्ने जनाए।
नेकपा केन्द्रीय सदस्य एवं कास्की ईञ्चार्ज राजकाजी गुरुङले संस्कृतिमन्त्री हुँदा रवीन्द्रले नै राजनीतिसँगै संस्कृति पनि रुपान्तरण थालेको जनाए। नेता रवीन्द्रको इच्छा अनुसार नै सांस्कृतिक रुपान्तरणका लागि विद्याले काजकिरिया फरक तरिकाले गरेको उल्लेख गर्दै नेता करणले रुपान्तरणलाई स्वीकार गर्न नसकी राजनीतिकरण गर्नेहरु सभ्य नागरिक हुनै नसक्ने तर्क गरे।
नेता गुरुङले भने, संस्कृति सहज, सरल र वैज्ञानिक बनाउनु हाम्रो कर्तव्य हो। यसलाई जनताले बुझेका छन्।’ संस्कृति जटिल हुँदा संस्कृतिप्रति वितृष्ण जाग्ने भएकाले युगानुकूल संस्कृति बनाउनु पनि नेतृत्वकर्ताकै दायित्व भएको उनले बताए। भलाममा भएको कार्यक्रममा राप्रपा जिल्ला सदस्यद्वय कृष्णबहादुर कार्की र रमणबहादुर कार्की लगायत नेकपा प्रवेश गरेका छन्।



लाेकपाटी न्यूज

