छापामार शैलीमा उपप्रधानमन्त्री यादवको पद फेरियो : बाबुराम भट्टराई

Baburam_Bhattarai
लाेकपाटी न्यूज

काठमाडौं, ५ मंसिर। पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय अध्यक्ष बाबुराम भट्टराईले पार्टी अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको मन्त्रालय छापामार शैलीमा फेरिएको बताएका छन्।पूर्वप्रधानमन्त्री भट्टराईले प्रधानमन्त्री केपी ओलीको कार्यशैली स्वेच्छाचारिता र निरंकुश रहेको आरोप लगाए।

‘संसदीय व्यवस्थामा प्रधानमन्त्री सर्वेसर्वा हो  तर सत्ता साझेदार दलसँग छलफल नै नगरी मन्त्री हटाउनु र मन्त्रालय फेर्नु अलोकतान्त्रिक शैली हो, ’ उनले भने, ‘मैले पनि सरकारको पुनर्गठनबारे मिडियाबाटै जानकारी पाएको हो। उपप्रधानमन्त्री सरकारी कामको सिलसिलामा विदेश भ्रमणमा हुनुहुन्छ। यस्तो अवस्थामा छापामार शैलीको जुन काम भएको छ, हाम्रो पार्टीले यसको गम्भीर समीक्षा गर्छ।’

पार्टीका केन्द्रीय अध्यक्ष एवं उपप्रधानमन्त्री स्वास्थ्य मन्त्री स्वदेश फर्किएपछि छलफल गरेर एउटा निर्णयमा पुग्ने बताए। सरकारसँग संविधान संशोधनको सर्तमा गएको भन्दै भट्टराईले प्रधानमन्त्री सहमतिप्रति इमान्दार नदेखिएको बताए।

बुधबार साँझ भएको मन्त्रीमण्डल हेरफेरमा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कानून मन्त्री बनाइएको छ। कानून मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ।