जनकपुर, ४ मंसिर। चालकलाई नियन्त्रणमा लिएर तेलसहित चोरी भएको ट्याङ्कर धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित रमदैयामा फेला परेको छ। सिरहाबाट हराएको डिजेल ट्याङ्कर धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित रमदैयामा फेला परेको हो।
क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर १ मा रहेको राजदेवी मन्दिर छेउ अलपत्र अवस्थामा डिजेल ट्याङ्कर फेला परेको धनुषाका प्रहरी उपरिक्षक शेखर खरेलले जानकारी दिए। डिजेल ट्याङ्कर सिरहा प्रहरीलाई बुझाउने तयारी गरिएको छ। प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय महेन्द्रनगरले रित्तो अवस्थामा रहेको डिजेल ट्याङ्कर फेला परेको हो।
मङ्गलबार ट्याङ्कर व्यवसायी महासंघको सूचना अनुसार बिहार पुगेको सिरहा प्रहरी रातभरको खोजपछि रित्तै फर्किएको थियो। अमलेखगञ्ज डिपोबाट डिजेल बोकी विराटनगरतर्फ गइरहेको नेपाल आयल निगमको ट्याङ्कर दुई दिनपछि फेला परेको हो।
ना ४ ख ४१६३ नम्बरको ट्याङ्कर सिरहाको लहानबाट सोमबार राति करिब १ बजेदेखि अपहरण पारिएका भनिएको डिजेल ट्याङ्करका चालक भने मङ्गलबार दिउँसो प्रहरीको सम्पर्कमा पुगेका थिए। प्रहरीले चालक रामदेव यादव र सहचालक उमेश यादवका अनुसार आफूहरुलाई राति करिब १ बजेको समयमा एक समूहले अपहरण गरी ट्याङ्कर भारत तर्फ लगेको थियो।
प्रहरीका अनुसार नेपालमा भन्दा भारतमा पेट्रोलियम पदार्थ महँगो भएकोले मिलेमतोमा बेच्न लगिएको आशंका छ।
उक्त डिजेल ट्याङ्करमा २० हजार लिटर डिजेल रहेको थियो। काठमाडौँ उपत्यकाको बिक्री मूल्य अनुसार १९ लाख ४० हजार रुपैयाँ बराबरको डिजेल ट्याङ्करमा रहेको थियो।
नेपाल आयल निगमले ‘अपहरण’ मा परेको भनिएको ट्याङ्करको खोजी गर्न एक समिति बनाएको छ। निगमले मङ्गलबार विज्ञप्ति प्रकाशित गरी प्रादेशिक प्रमुख इञ्जिनियर अशोक शाहको नेतृत्वमा ४ सदस्यीय समिति गठन गरेको छ।



लाेकपाटी न्यूज

