आमा समूहको समाजसेवा : विद्यालयलाई एक लाख, मन्दिरलाई ५० हजार

IMG_3358
लाेकपाटी न्यूज

थम्मन थापा/बागलुङ, २ मंसिर। गाउँगाउँमा दिदीबहिनी आमाहरु एकीकृत रुपमा समूह गठन गरी समाजको समृद्विमा लागेका छन्। आमा तथा महिला समूहको स्थापना गरी समाजमा हुने हरेक सामाजिक गतिविधिमा जोडिएका छन्।

पछिल्लो समय महिला समूहहरुले थुप्रै उल्लेख्य कामहरु गर्दै आइरहेका समाचारहरु निकै सुन्न र देख्न पाइन्छ। महिला तथा आमा समूहले गाउँमा लाहुरे आउँदा, विदेशी आउँदा होस् या अन्य अतिथिहरुको आगमनका क्रममा स्वागत सत्कारस्वरुप भजन गाउने प्रचलन छ। भजन गाएर संकलित रकम महिला दिदीबहिनीहरुले सामाजिक कार्यमा खर्च गर्ने गरेका छन्।

यसै सिलसिलामा जिल्लाको गलकोट नगरपालिका ७ मल्म खोलापारीमा अवस्थित मुलपानी सप्ताहघाट महिला समूहले स्थानीय सामुदायिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ। गलकोट नगरपालिका ७ मल्म सप्ताहघाटको प्रगति आधारभूत विद्यालयलाई नगद रु. १ लाख र खड्ग कालिका मन्दिरलाई नगद रु ५० हजार गरी डेढ लाख आर्थिक सहयोग गरेको छ। वि.सं. २०४७ सालमा स्थापना भएको विद्यालयले समयको आवश्यकताअनुरुप वि.सं. २०६९ सालदेखि अङग्रेजी माध्ययमबाट पठनपाठन सुरु गरेको थियो।

अभिभावकको चाहना बमोजिम अङग्रेजी माध्यमबाट कक्षा सञ्चालन भएपछि अहिले विद्यार्थीको आकर्षणसमेत बढेको छ। २ वटा शिक्षकको दरबन्दी रहेको उक्त विद्यालयमा ८ जना शिक्षक स्थानीय श्रोतमा रहेका छन्। आर्थिक अभावमा रहेको विद्यालयलाई थोरै भए पनि राहत होस् भन्ने उद्देश्यले शैक्षिक गुणस्तर अभिवृद्वि गर्नका निमित्त विद्यालयलाई आर्थिक सहयोग प्रदान गरिएको मुलपानी सप्ताहघाट महिला समूहका अध्यक्ष थुम कुमारी थापाले जानकारी दिइन्।

समूहले मल्म सप्ताहघाटमा रहेको खड्ग कालिका मन्दिरमा सत्तल निर्माण गर्नको निमित्त नगद रु ५० हजार सहयोग गरेको छ। वि.सं. २०६४ सालमा स्थापना भएको महिला समूहले वि.सं. २०६६ सालमा सामाजिक संस्था घुम्टे युवा परिवारको प्राङगणमा पक्की मञ्च र स्वागत द्वार निर्माण गरेको थियो।

समूहले स्थानीय स्तरमा विभिन्न सामाजिक क्रियाकलाप तथा गतिविधिहरु गर्दै आइरहेको छ। महिला समूहले आर्थिक सहयोग गरेको भन्दै प्रगति आधारभूत विद्यालय र खडग कालिका भगवती गुठीले कृतज्ञता समेत प्रकट गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर थापाले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्