स्याङ्जाको बाहुनथानमा फहराइयो नेपालकाे झण्डा

llllll
लाेकपाटी न्यूज

स्याङ्जा, १ मंसिर । स्याङ्जा जिल्लास्थित वालिङ नगरपालिकाका युवाहरुले पर्यटकीय स्थल बाहुनथानमा झण्डै १२ फिट अग्लो नेपालको झण्डा फहराएका छन्। स्याङ्जा जिल्लामा रहेको बाहुनथान पर्यटकीय सम्भावना रहेको एक रमाईलो गन्तव्य हो।

पर्यटकीय सम्भावनालाई मध्यनजर गर्दै यसको संरक्षणमा जुटेका यूवाहरुद्वारा गत हप्ताबाट सुरु गरिएको सरसफाई कार्यक्रमको दोस्रो श्रृङ्खला अन्तर्गतको सरसफाई कार्यक्रम पश्चात् वाहुनथानमा झण्डा गाडिएको हो। उक्त क्षेत्रको गत हप्ताको सरसफाई कार्यक्रम सफल पार्नको लागि धेरै सङ्घ संस्थाहरु तथा विद्यालयले समेत सहयोग गरेका थिए।

कार्यक्रममा द वण्डरफुल वालिङ र बाहुनथान पर्यटकीय उद्यानको आयोजना तथा वालिङ जेसिज, दारी ग्याङ स्याङ्जा, रोटरी क्लब अफ वालिङ,साईन भिलेज ईन्टरनेशनल एकेडेमी वालिङ, नवजागृति युवा क्लब र त्रिनेत्र युवाक्लब वालिङको सहभागीता रहेको थियो।

बाहुनथान क्षेत्रको संरक्षण तथा प्रर्वद्धन गरी पर्यटकको आकर्षण बढाउने उद्येश्यले अभियान सुरु गरिएको द वण्डरफुल वालिङका अध्यक्ष आशिषप्रताप खाँणले जानकारी दिए। उक्त ठाँउमा रहेका सिसाजन्य वस्तु, प्लाष्टिक जन्य फोहोर र कुहिने फोहोरसमेत छुट्याएर फोहोरहरु वालिङ सरसफाई केन्द्रमा लगिएको छ।

१२ फिट अग्लो नेपालको राष्ट्रिय झण्डा फहरिए पछि यस क्षेत्रको महत्व अझै बलियो भएको दारी ग्याङका सदस्य भिमराज लामिछानेले जानकारी दिए । लमिछानेले पर्यटकीय स्थलको संरक्षण र पिङ्क सिटी अबलोकन गर्न सकिने महत्वपूर्ण स्थलमा फहराएको राष्ट्रिय झण्डाले त्यहाँ अबलोकन गर्ने पर्यटकलाई आफ्नो राष्ट्र भाव बढउँछ।

आन्तरिक पर्यटकको रोजाईमा परेको बाहुनथान वालिङ बजारबाट करिव २ किलोमिटर ग्रामिण कच्ची सडकमार्फत् पुग्न सकिन्छ। बाहुनथानलाई स्याङ्जा जिल्लाकै एक प्रमूख पर्यटकीय गन्तव्य स्थलको रुपमा स्थापित गर्ने उद्देश्यले संघ संस्थाहरु लागि परेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्