दोस्रो गलकोट घुम्टे महोत्सव : हेलिकोप्टरमार्फत् दृश्यावलोकन

Helicaptar
लाेकपाटी न्यूज

थम्मन थापा\ बागलुङ, १ मंसिर। दोस्रो गलकोट घुम्टे महोत्सव २०७६ नजिकिँदै गर्दा माहोल पनि उल्लासमय बनेको छ। मंसिर ४ गते देखि ११ गते सम्म सञ्चालन हुने महोत्सवमा यस पटक हेलिकोप्टरमार्फत् पर्यटकीय तथा धार्मिक स्थलहरुको दृश्यावलोकनसँगै पूजाअर्चना गर्न पाउने सुविधाले धेरैको मन लोभाएको छ।

यस पटक महोत्सवको अवसरमा गलकोटमै पहिलो पटक हेलिकोप्टरमार्फत् पर्यटकीय तथा धार्मिक स्थलहरुको समेत दृश्यावलोकन गर्न पाइने छ। यसको लागि अहिले आवश्यक गृहकार्य भइरहेको महोत्सव आयोजक संस्था गलकोट घुम्टे पर्यटन विकास केन्द्रले जनाएको छ।

महोत्सवलाई थप आकर्षण बनाउन र हेलिकोप्टरमार्फत् गलकोटदेखि पर्यटकीय नगरी ढोरपाटनसम्मको दृश्य अवलोकन गर्न यसलाई मूख्य आकर्षणको रुपमा राखिएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष राज बहादुर थापाले जानकारी दिए। हेलिकोप्टरमार्फत् दृश्य अवलोकन गर्न ईच्छुकलाई अहिले टिकट बुकिङ खुल्ला गरिएको छ।

महोत्सवमा आउने दर्शकहरुको सहजताको लागि विभिन्न प्याकेजहरु तयार गरिएको महोत्सव हेलिकोप्टर व्यवस्थापन समिति संयोजक विराज सुवेदीले जानकारी दिए। महोत्सवको अवसरमा न्यूनतम शुल्कमा हेलिकोप्टरमार्फत् गलकोट नगरपालिका र ताराखोला गाँउपालिकाका पर्यटकीय क्षेत्रहरुको अवलोकनसँगै ढोरपाटन शिकार आरक्षणको समेत दृश्य अवलोकन गर्न सकिने संयोजक सुवेदीले बताए। झण्डै १३ वर्ष पछि बागलुङको गलकोटमा सञ्चालन हुन् लागेको दोस्रो गलकोट घुम्टे महोत्सवमा हेलिकोप्टरमार्फत् दृश्य अवलोकन निकै मनोरम र रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ ।

हेलिकोप्टर दृश्यावलोकनमा कति खर्च गर्नु पर्छ त ?

न्युनतम ५ मिनेट सम्म गलकोट क्षेत्रको दृश्यालोकन गर्नेको लागि पहिला टिकट बुकिङ गर्ने २ सय जनालाई रु ६ हजार शुल्क लाग्ने छ। २ सय जना भन्दा बढि भएमा ६ हजार ५ सय रुपैँया लाग्ने बताइएको छ। गलकोट घुम्न पाइने भएको छ। त्यस्तै गलकोट घुम्टे शिरमा अवस्थित शिद्ध भैरव मन्दिरको दृश्यावलोकनसहित गलकोट क्षेत्रका पर्यटकीय गन्तव्यहरु अवलोकनको लागि १५ मिनेट समयको रु १५ हजार शुल्क निर्धारण गरिएको छ। गलकोटसहित नेपालको एक मात्र ढोरपाटन शिकार आरक्षको हेलिकोप्टरमार्फत् अवलोकन गर्न रु ३५ हजार शुल्क निर्धारण गरिएको महोत्सव सचिवालय समिति सदस्य भुपेन्द्र खत्रीले जानकारी दिए।

महोत्सव अवधिभर कुन- कुन दिन उडान हुन्छ त हेलिकोप्टर ?

हेलिकप्टर मंसिर ४, ७ र ११ गते उडान हुनेछ । हेलिकप्टर उडानको लागी महोत्सवको टाईटल स्पोन्सर प्रभु गु्रपसँग सम्झौता गरी सकिएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झंक बहादुर बस्नेतले जानकारी दिए। महोत्सवमा गलकोट, ताराखोला र ढोरपाटनसम्मको आकाशमा प्रभु हेलिकोप्टरले उडान भर्ने छ। त्यसको लागि आवश्यक प्रकृयासमेत पूरा गरिएको हेलिकोप्टर व्यवस्थापन समितिका संयोजक सुवेदीले बताए।

महोत्सवमा आफन्तजन ईष्टमित्र शुभेच्छुकलाई हेलिकोप्टरमा घुम्ने र दृश्य अवलोकन गर्ने अवसर प्रदान गर्न अहिले देश विदेशबाट टिकट बुकिङ भइरहेको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका सचिव शेर बहादुर थापाले जानकारी दिए। गलकोट क्षेत्रमा हेलिकोप्टरमार्फत् दृश्यावलोकन गर्ने अवसर पहिलो भएकोले पनि निकै आर्कषणको रुपमा हेरिएको छ। नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी आयोजना गरिएको दोस्रो गलकोट घुम्टे महोत्सवमा मूख्य आर्कषणको रुपमा रहेको हेलिकोप्टरमार्फत् दृश्यावलोकनको निम्ति अनलाईन र टेलिफोनमार्फत् टिकट बुकिङ गर्न सकिने बताइएको छ । हेलिकोप्टरको टिकट बुकिङ गर्न ९८५११७३५८५ मा सपर्क गर्न सकिने छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्