सीमा नाकामा सशस्त्र प्रहरीकाे निगरानी

Armed police force
लाेकपाटी न्यूज

पर्सा, २९ कार्तिक। पर्सा जिल्लाको वीरगञ्जको भन्सार इलाकाबाट शुक्रबार सशस्त्र प्रहरी टोलीले बिभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज–३२ का २४ वर्षीय नरेश महतो छन्।

उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो। भारतबाट नेपालतर्फ आउँदै गरेका निज महतोलाई शंका लागि जाँच गर्दा उनको साथमा डाइजोपाम ५० वटा, नोफिन ५० वटा र फेनारगन ४७ वटा फेला परेपछि उनलाई उक्त लागूऔषधसहित पक्राउ गरिएको हो।

सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने चाेरी निकासी र लागूऔषधकाे काराेबारमाथि निगरानी बढाएकाे छ। एपीएफ टोलीले पक्राउ परेका महतोलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीका लागि लागूऔषध नियन्त्रण व्यूरो कार्यालय वीरगञ्जमा बुझाएको छ।

त्यसैगरि सशस्त्र प्रहरीको टोलीले सर्लाही जिल्लाको मलंगवा नगरपालिकाको राजदेवी मन्दिर इलाकाबाट शुक्रबार चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ। भारतबाट अवैध रुपले मोटरसाइकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश मलंगवाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो।

एपीएफ टोलीले बरामद लत्ताकपडा तथा उक्त मोटरसाइकल भन्सार कार्यालय मलंगवामा बुझाएको छ। बरामद लत्ताकपडा तथा मोटरसाइकलको भन्सार मूल्य करीव एक लाख ५४ हजार रुपैयाँ रहेको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्