लगातार १ सय २६ घण्टा नृत्य गरेर विश्व किर्तिमान राख्ने बन्दनाको घोषणा

Bandana Nepal
लाेकपाटी न्यूज

काठमाडौं, १९ कात्तिक । नेपाली कला र संस्कृतिलाई विश्वमा चिनाउने उद्देश्यले धनकुटा महालक्ष्मी नगरपालिका मुर्तिढुङ्गा–९ मा जन्मिएकी १७ वर्षीया बन्दना नेपालले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ को लागि १ सय २६ घण्टा लगातार नृत्य गर्ने घोषणा गरेकी छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर बन्दनाले १ सय २६ घण्टा लगातार नृत्य गरेर ‘विश्व रेकर्ड’ हाँसिल गर्नको लागि आफू तयार रहेको विश्वास दिलाइन् ।

नेपाली संस्कृति र सभ्यतामाथि पश्चिमा संस्कृतिले आक्रमण गरिरहेको बताउँदै नृत्याङ्गना नेपालले त्यसलाई रोक्नको लागि आफूले ‘कल्चरल’ पोशाकमा उक्त नृत्य गर्न लागेको पनि जानकारी दिइन् ।

उनले भनिन्, ‘म सानैदेखि नृत्यकर्ममा रुचि राख्ने माान्छे हुँ, आजको दिनसम्म म यसै क्षेत्रमा लागिरहेकी छु, हाम्रो सभ्यता र संस्कृतिलाई पश्चिममा संस्कृतिले आक्रमण गरिहरहेको छ, यसलाई हामीले रोक्नुपर्छ । हाम्रो संस्कृतिलाई विश्वमा चिनाउनुपर्छ, त्यो कर्तव्य हाम्रै हो । हरेक नेपालीहरुले देशको शीर माथि उठाउने काम गर्नुपर्छ, म आँफैमा ढुक्क छु ।’

विगत १५ वर्षदेखि काठमाडौंमा बसोबास गर्दै आएकी बन्दना हाल नयाँ बानेश्वरमा अवस्थित् चेल्सी ईन्टरनेशनल कलेजमा कक्षा १२ मा अध्ययनरत छिन् । उनले आफूमा सानैदेखि गीत, संगीत र नृत्यमा विशेष रुची रहेको पनि बताइन् । बन्दनाले थपिन्, ‘जसको फलस्वरुप मैले विद्यालय तहमा नृत्य सिकें, अहिले नृत्य कक्षा खोलेर बसेकी छु, मैले प्रयास गरेकी छु, म सफल हुन्छु ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्