पोखरा, कात्तिक। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य एवं निर्वाचन विभाग उपप्रमुख खिमलाल देवकोटाले रवीन्द्र अधिकारीले कोरेको मार्ग, सपना र प्रतिबद्धता पूरा गराउने प्रतिनिधि पात्रको रुपमा उम्मेदवार विद्या भट्टराई रहेको बताएका छन्।
नेकपा कास्कीको चुनावी प्रचारअन्तर्गत पोखरा–७, मासबारमा भएको चुनावी सभालाई सम्बोधन गर्दै अधिवक्ता समेत रहेका नेकपा नेता देवकोटाले सो कुरा बताएका हुन्। उनले राष्ट्रिय एकता तथा विकास र समृद्धि चाहने व्यक्तिले अधिकारीका विकास योजना पूरा गर्न कास्की–२ उम्मेदवार विद्या भट्टराईलाई जिताउनुपर्ने बताए ।
मुलुकमा ७० वर्षसम्म एकमना सरकार नबनेको अवस्था स्मरण गर्दै देवकोटा हालको सरकारले समृद्ध नेपाल, सुखी नेपाली नारा पूरा गर्ने दिशामा अघि बढेको बताए। कार्यक्रममा उम्मेदवार विद्या भट्टराईले भनिन्, ‘तपाईसँगसँगै रहनुभएका लोकप्रिय नेता रवीन्द्र अधिकारी अकल्पनीय घटनाका कारण हामीमाझ अहिले हुनुहुन्नँ। उहाँले छोडेर गएका सपना पूरा गर्न परिस्थितिले मलाई तपाईसामु उभ्याएको छ। त्यसैले उहाँका अधुरा सपना अवश्य पूरा गर्दै जानेछु।’
उनले मतदाताको भरोसामा कुनै पनि खेलवाड नगर्ने वाचा समेत गरिन् । ज्येष्ठ नागरिकको सम्मानस्वरुप पार्टीले विगतको १ सय रुपैयाँ हुँदै अहिले मासिक भत्ता ३ हजार पुर्याएको उल्लेख गर्दै उनले सदैव ज्येष्ठ नागरिक, महिला, बालबालिका, पिछडिएको वर्ग, दलित लगायतको हकहितमा पार्टी अग्रमोर्चामा रहने बताइन्।
सो क्षेत्रमा घरदैलोपछि भएको सभामा नेकपा वडा–७ अध्यक्ष एवं निर्वाचन परिचालन कमिटी संयोजक पुरुषोत्तम रेग्मीले स्वागत र वडासचिव सूर्यबहादुर कार्कीले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा मासबार निवासी ९७ वर्षीय खुसीराम रेग्मीले उम्मेदवार भट्टराईलाई माला लगाउँदै जितको शुभकामना दिए।
यस्तै, पोखराको पुष्पलाल पार्कमा भएको सभामा नेकपा केन्द्रीय सदस्य श्रीनाथ बराल, केन्द्रीय सदस्य सीता गिरी वली, उम्मेदवार भट्टराई, नेकपा कास्की सचिव बखानसिंह तमु, नेकपा जिल्ला सदस्य जनकराज पराजुली, स्थानीय टीकादेवी अधिकारी लगायतले सम्बोधन गरेका थिए।



लाेकपाटी न्यूज

